दुई गुणस्तरहिन ‘प्यारासिटामोल इन्फ्युजन’ औषधि बजारबाट फिर्ता गर्न औषधि व्यवस्था विभागको निर्देशन

काठमाडौं, १ चैत्र २०८२ः

औषधि व्यवस्था विभाग ले गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै दुई प्रकारका प्यारासिटामोल इन्फ्युजन औषधि बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ।

बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा ती औषधि निर्धारित गुणस्तर मापदण्डअनुसार नदेखिएको पाइएको हो। विभागका अनुसार परीक्षणको क्रममा ती औषधि आईपी २०२२ (IP 2022) अनुसारको स्टेरिलिटी परीक्षणमा असफल भएका कारण बजारबाट फिर्ता गर्नुपर्ने निर्णय गरिएको हो।

सूचना अनुसार Axapara-100ml (Paracetamol Infusion 100ml) नामक औषधि, ब्याच नम्बर AB 50335, उत्पादन मिति फेब्रुअरी २०२५ र म्याद जनवरी २०२७ रहेको औषधि फिर्ता गर्न भनिएको छ। यो औषधि भारतको Axa Parenterals Ltd., India ले उत्पादन गरेको हो भने नेपालमा Axadeep Pharma Distributors Pvt. Ltd. मार्फत वितरण गरिएको उल्लेख छ।

त्यसैगरी Abamol-100ml (Paracetamol Infusion 100ml) नामक औषधि, ब्याच नम्बर RB544502, उत्पादन मिति जुलाई २०२४ र म्याद जुन २०२६ रहेको औषधि पनि फिर्ता गर्न विभागले निर्देशन दिएको छ। उक्त औषधि भारतको Abaris Healthcare Pvt. Ltd., India ले उत्पादन गरेको र नेपालमा RB Pharmaceuticals Pvt. Ltd., Kathmandu ले वितरण गरेको जानकारी दिइएको छ।

विभागले यी औषधिहरूको उत्पादन, वितरण, बिक्री तथा प्रयोग नगर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ। साथै बजारमा उपलब्ध भए तत्काल सम्बन्धित आपूर्तिकर्तालाई फिर्ता गर्न पनि आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!