काठमाडौँ।
निर्वाचन आयोग नेपाल ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित ११० सांसदको नामावली सार्वजनिक गरेको छ।
आयोगका सचिव तथा समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउत ले आज जारी गरेको विज्ञप्तिमा कानुनअनुसार तोकिएको ‘क्लष्टर’ व्यवस्था अनुसार विभिन्न राजनीतिक दलबाट सांसद निर्वाचित भएको उल्लेख गरिएको छ।
सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सबैभन्दा बढी ५७ जना सांसद निर्वाचित भएका छन्। यस्तै नेपाली काँग्रेस बाट २० जना, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) बाट १६ जना, नेपाल कम्युनिष्ट पार्टी बाट ९ जना सांसद निर्वाचित भएका छन्।
यसैगरी श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बाट ४/४ जना सांसद समानुपातिक प्रणालीमार्फत निर्वाचित भएको आयोगले जनाएको छ।
आयोगका अनुसार गत फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो। त्यसमध्ये १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएको जनाइएको छ।
आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूको पूर्ण नामावलीसमेत सार्वजनिक गरेको जनाएको छ।