राष्ट्रिय परिचयपत्रबाटै स्वास्थ्य बीमा सेवा: चैत २५ देखि लागू हुने

काठमाडौँ ।

अब स्वास्थ्य बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र नै पर्याप्त हुने भएको छ । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग बीच सोमबार भएको समझदारीपछि यस्तो व्यवस्था लागू हुने भएको हो ।

बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेल र विभागका महानिर्देशक नमराज घिमिरेले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार अब राष्ट्रिय परिचयपत्र नम्बरमार्फत नागरिकको पहिचान डिजिटल रूपमा प्रमाणीकरण गरिनेछ, जसले स्वास्थ्य बीमा प्रणालीलाई अझ सुरक्षित, छिटो र विश्वसनीय बनाउनेछ ।

उनका अनुसार बोर्ड र विभागबीचको तथ्याङ्क एकीकृत गरिनेछ, जसपछि राष्ट्रिय परिचयपत्रकै आधारमा बीमा सेवा प्रवाह सुरु हुनेछ । “सम्झौताअनुसार अब दर्ता र नवीकरण प्रक्रिया पनि सहज हुनेछ,” उनले बताए ।

यो व्यवस्था आगामी चैत २५ गतेदेखि लागू हुने जनाइएको छ । हाल स्वास्थ्य बीमा बोर्डमा करिब एक करोड दुई लाख नागरिक आबद्ध छन् । अहिले भने नागरिकता र सवारी चालक अनुमतिपत्रका आधारमा बीमा सेवा प्रदान हुँदै आएको छ ।

नयाँ प्रणाली लागू भएपछि बीमा दर्ता, नवीकरण तथा सेवा प्राप्ति प्रक्रिया सरल हुनुका साथै दोहोरो दर्ता नियन्त्रण, तथ्याङ्क व्यवस्थापन र सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!