रेडियो जनसञ्चारको वार्षिकोत्सवमा भक्तपुरमा बृहत्त स्वास्थ्य शिविर सम्पन्न

भक्तपुर,

रेडियो जनसञ्चारको १८ औं वार्षिकोत्सव र जनसञ्चार टेलिभिजनको छैठौं वर्ष प्रवेशको अवसरमा आज भक्तपुरमा बृहत्त स्वास्थ्य शिविर आयोजना गरिएको छ।

शिविरमा १५५ जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन् भने २५ जनाले रक्तदान गरेका छन्। कार्यक्रम प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

शिविरमा ख्वप टिलगंगा आँखा अस्पतालले आँखा परीक्षण, सिद्धिस्मृति अस्पतालले दन्त, स्त्री तथा हाडजोर्नी परीक्षण, नेपाल हृदयरोग निवारण प्रतिष्ठानले मुटु रोग परीक्षण, सहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रले मृगौला परीक्षण र अंगदान सम्बन्धी अभिमुखिकरण, भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर परीक्षण, र जनस्वास्थ्य कार्यालय भक्तपुरले नसर्ने रोग परीक्षण सेवा प्रदान गरेका थिए।

रक्तसञ्चार सेवा केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको थियो।

कार्यक्रममा जनस्वास्थ्य अधिकारी अन्जना खड्का, नापी कार्यालय प्रमुख पूर्णबहादुर पाण्डे, युवा व्यवसायी समाजका अध्यक्ष विश्वराम कवां, भक्तपुर इट्टा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाई ह्यौवा, तथा समाजसेवी रविन्स लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

उद्घाटनका क्रममा प्रमुख जिल्ला अधिकारी ढकालले पानसमा दीप प्रज्वलन गरी स्वास्थ्य शिविरको उद्घाटन गरेका थिए। यस अवसरमा स्वास्थ्य शिविरमा सहयोग गर्ने निकाय, रक्तदाता, विज्ञापनदाता र सामाजिक अभियन्ताहरूलाई सम्मान गरिएको थियो।

रेडियो जनसञ्चारले २०६५ सालदेखि “जनताको आवाज, जनताको विचार” नारासहित निरन्तर प्रशारण गर्दै आएको छ भने २०७७ सालदेखि सञ्चालनमा आएको जनसञ्चार टेलिभिजनले स्वतन्त्र पत्रकार संघ भक्तपुरको सहआयोजनामा वार्षिकोत्सव समारोह मनाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!