भक्तपुर, १२ चैत्र २०८२ः
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी तीव्र गतिमा भइरहेको जनाएको छ।
बोर्डका कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार चैत १९ गतेदेखि सुरु हुने एसइईका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। उहाँले चैत १४ गतेसम्म सबै जिल्लामा प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका तथा अन्य आवश्यक सामग्री पुर्याइसक्ने जानकारी दिनुभयो।
बोर्डका अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी एसइई परीक्षामा सहभागी हुनेछन्। गत वर्ष २०८१ मा भने ५ लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागी भएका थिए। यस वर्ष परीक्षार्थीको संख्या अघिल्लो वर्षको तुलनामा केही घटेको देखिएको छ।
कुल परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन्। साथै ७० हजार ८५५ विद्यार्थी ग्रेडवृद्धि (अपग्रेड) तर्फ सहभागी हुनेछन् भने जापानबाट २३ जना विद्यार्थीले पनि एसइई दिने भएका छन्।
यस वर्ष देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षा सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरी सहित चारै सुरक्षा निकायका करिब १२ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिने बोर्डले जनाएको छ।
परीक्षा चैत १९ देखि २९ गतेसम्म देशभर एकैसाथ बिहान ८ बजेदेखि सञ्चालन हुनेछ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका कारण यस वर्षको एसइई परीक्षा अघिल्लो वर्षभन्दा करिब दुई साता पछि सारिएको हो। बोर्डले एसइईको नतिजा असारको तेस्रो सातासम्म सार्वजनिक गर्ने योजना बनाएको जनाएको छ।