काठमाडौँ, चैत १२ गते ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराउनुभएको हो।

ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो। नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम शपथ लिने व्यवस्था रहेको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२ सिट जित्दै अग्रस्थान हासिल गरेको छ। यस्तै, नेपाली कांग्रेस ले ३८, नेकपा एमाले ले २५, नेपाल कम्युनिस्ट पार्टी ले १७, श्रम संस्कृति पार्टीले सात र राष्ट्रिय प्रजातन्त्र पार्टी ले पाँच सिट प्राप्त गरेका छन्।