काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याललाई पक्राउ गरेको छ ।
ब्यूरोका अनुसार धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धानका लागि अर्याललाई काठमाडौं महानगरपालिका–२९, न्यूप्लाजा पुतलीसडकबाट पक्राउ गरिएको हो ।
ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार कर्मचारीलाई छुट्याइएको सेयर बाँडफाँट सम्बन्धी विवरण नियमनकारी निकायमा पेस गर्दा कम्पनीबाट प्राप्त सक्कल आवेदन फाराम र त्यसका प्रतिलिपिमा फरक–फरक विवरण देखिएकाले पक्राउ गरिएको हो ।
उक्त कार्य धितोपत्रसम्बन्धी ऐन २०६३को दफा १०० विपरीत रहेको जनाउँदै ब्यूरोले थप अनुसन्धान भइरहेको जनाएको छ ।