भक्तपुर — दशौँ ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ले तीन दिनमै करिब २० हजार दर्शक आकर्षित गरेको छ।
औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार महोत्सवले उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउने लक्ष्य लिएको छ। साथै, स्थानीय उत्पादन, उद्योग तथा व्यवसायको प्रवर्द्धन महोत्सवको मुख्य उद्देश्य रहेको उनले बताए।

महोत्सवका संयोजक दीपक थापाका अनुसार महोत्सवमा दैनिक रूपमा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति भइरहेको छ। बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेल सामग्रीको व्यवस्था गरिएकाले महोत्सव किनमेल र मनोरञ्जनको उत्कृष्ट गन्तव्य बनेको उनले बताए।

नयाँ वर्ष २०८३ तथा विस्का: जात्राको अवसर पारेर सल्लाघारीस्थित चौरमा सञ्चालन भइरहेको महोत्सव बैशाख ६ गतेसम्म जारी रहने आयोजकले जनाएको छ।
महोत्सवमा १५० भन्दा बढी स्टलहरू राखिएका छन्। प्रवेश शुल्क विद्यार्थीका लागि ५० रुपैयाँ र सर्वसाधारणका लागि १०० रुपैयाँ तोकिएको छ भने ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

किनमेल, मनोरञ्जन र स्थानीय उत्पादनको प्रवर्द्धनलाई एकैथलोमा समेटेको महोत्सव दर्शकका लागि आकर्षक विकल्पका रूपमा स्थापित हुँदै गएको आयोजकको दाबी छ।