विराटनगर, २८ चैत्र २०८२ः
कोशी प्रदेशमै पहिलो सलाइन उद्योग सञ्चालनमा आएको छ । मोरङको बुढीगङ्गा गाउँपालिका–२ मा एक अर्ब रुपैयाँभन्दा बढी लगानीमा स्थापना गरिएको ‘एलेक्सा लाइफसाइन्सेज’ ले सबै कानुनी प्रक्रिया पूरा गरी व्यवसायिक उत्पादन सुरु गरेको हो ।
उद्योगको उद्घाटन वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान् कोइरालाले शुक्रबार गर्नुभयो । स्वदेशी पुँजी र प्रविधिमा आधारित अन्तर्राष्ट्रिय मापदण्डको उद्योग सञ्चालनमा आएसँगै करिब १५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
उद्योगी दिनेश ठाकुरका अनुसार सलाइन तथा औषधी उत्पादन सुरु भएसँगै आयातमा निर्भरता घटाउँदै आत्मनिर्भर बन्ने दिशामा महत्त्वपूर्ण पहल भएको छ । उद्योगमा ठाकुर र रञ्जित भगतसहितका लगानीकर्ताहरूको लगानी रहेको छ ।
पाँच वर्षको अध्ययन र योजनापछि स्थापना गरिएको यस उद्योगमा जर्मन प्रविधिमा आधारित अत्याधुनिक मेसिन प्रयोग गरिएको छ । हाल उद्योगले १०० एमएलदेखि ३ हजार एमएलसम्मका ‘लार्ज भोल्युम प्यारेन्टरल्स’ (LVP) सलाइन उत्पादन गरिरहेको छ ।
आगामी चरणमा १ देखि २० एमएलसम्मका ‘स्मल भोल्युम प्यारेन्टरल्स’ (SVP) तथा तेस्रो चरणमा आँखा र कानमा प्रयोग हुने औषधी उत्पादन गर्ने योजना रहेको उद्योगका निर्देशक ठाकुरले जानकारी दिनुभयो ।
यद्यपि, बजार व्यवस्थापनमा केही चुनौती रहेको उद्योगले जनाएको छ । उत्पादन लागत उच्च हुँदा मूल्य समायोजन गर्न कठिन भइरहेको र हाल घाटा सहेरै उत्पादन गरिरहेको ठाकुरको भनाइ छ । उहाँले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न नीतिगत सुधार र सहुलियत आवश्यक रहेकोमा जोड दिनुभयो ।
नेपालको औषधी बजारमा विदेशी कम्पनीहरूको वर्चस्व रहेको अवस्थामा यस्तो ठूलो लगानीले स्वदेशी उद्योग क्षेत्रमा नयाँ उत्साह थपेको छ । उद्योगले दीर्घकालमा निर्यातसमेत गर्ने लक्ष्य राखेको छ ।