मध्यपुर थिमि, २८ चैत्र २०८२ः
बिस्काः जात्रा २०८२ को अवसरमा मध्यपुर थिमि नगरपालिकाको आयोजना तथा श्री राज गणेश धिमे खलःको संयोजनमा मध्यपुरमा आयोजित खुल्ला धिमेबाजा प्रतियोगिता आज भव्य रूपमा सम्पन्न भएको छ ।

उपत्यका भरका ३७ धिमे खलः/पुचःको उत्साहजनक सहभागिता रहेको प्रतियोगितामा चन्द्रागिरी नगरपालिका स्थित नास भैरव धिमे खलः उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भयो । जीत संगै विजेताले नगद रु. ५४,४४४ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा चाँगुनारायण नगरपालिकाको ताथली धिमे खलःले अति नै मनमोहक प्रस्तुति दिदै द्वितीय स्थान हासिल गरेको छ साथै नगद रु. २५,४४४ सहित मेडल र प्रमाणपत्र हात पार्न सफल भयो । कीर्तिपुर नगरपालिकाको सनस्टार धिमे खलः तृतीय स्थान सहित नगद रु. १५,४४४ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।
प्रतियोगितामा कीर्तिपुरको नयाँ बजार धिमे खलःले सान्त्वना पुरस्कार प्राप्त गर्यो भने भक्तपुरको चाहना सांस्कृतिक समूह ‘जज च्वाइस अवार्ड’बाट सम्मानित भयो ।
विजेता टोलीहरूलाई नगरप्रमुख सुरेन्द्र श्रेष्ठले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।
परम्परा, कला र प्रतिस्पर्धाको संगम बनेको यस कार्यक्रमले बिस्काः जात्राको सांस्कृतिक रौनक अझै थपेको आयोजकले जनाएको छ ।