धनगढी, ५ बैशाख २०८३ः
कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु सेवन गर्दा दुई बालकको मृत्यु भएको घटनामा कुखुरामा कुनै सङ्क्रमण नभेटिएको पशु रोग अन्वेषण प्रयोगशाला धनगढीले पुष्टि गरेको छ।
प्रयोगशालाका अनुसार उक्त दुखद घटनापछि खटिएको प्राविधिक टोलीले चुरे गाउँपालिका स्थित विकास पोल्ट्री फार्ममा मरेका कुखुराको नमूना परीक्षण गरेको थियो। परीक्षणका क्रममा कुखुरामा कुनै पनि हानिकारक सङ्क्रमण फेला नपरेको प्रयोगशालाका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. नरेशप्रसाद जोशीले जानकारी दिनुभयो। डा जोशीका अनुसार परिक्षणमा बर्डफ्लु समेत नेगेटिभ देखिएको छ।
प्रयोगशालाले मासु सेवनपछि बिरामी पर्नुको कारण सङ्क्रमण नभई सडेगलेको मासु भएको औँल्याएको छ। डा. जोशीका अनुसार पीडित परिवारले करिब चार दिनसम्म सडेगलेको मासु पकाएर खाएको खुलेको छ, जसका कारण फुड प्वाइजन भएको हुन सक्ने देखिएको छ।
मरेको ब्रोइलरको मासु सेवनपछि चुरे गाउँपालिका–३ का आठ वर्षीय भीम ताम्राकार र पाँच वर्षीय दीपकको उपचारका क्रममा शुक्रबार सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको थियो।
घटनामा घाइते आमा २८ बर्षिय राधिका तथा उनका ३ वर्षीय छोरा दीपेशको हाल नबजिबन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ।