काठमाडौँ, ४ वैशाख २०८३ः
प्रधानमन्त्री बालेन्द्र शाहले मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) का अवसरमा सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले यस अवसरमा माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुने उल्लेख गर्दै आमाहरूप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ। उहाँले देशलाई आमाको प्रतीकका रूपमा लिँदै नेपालको उज्ज्वल भविष्यको कामना पनि गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले माताको काखलाई न्यानो र चरणलाई तीर्थजस्तै पवित्र बताउँदै आमालाई माया, त्याग र समर्पणको अनुपम उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ ।
उहाँले आमाहरूको दीर्घायुको कामना गर्दै जीवनका पहिलो गुरुका रूपमा आमाको भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ। साथै, सन्तानहरूले आफ्ना कर्म मार्फत आमालाई सधैँ गर्व गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै आमालाई सधैँ हँसाउनुपर्ने शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।