भक्तपुर नगरभित्रका सबै विद्यालय पूर्ववत् शैक्षिक क्यालेन्डरअनुसार सञ्चालन हुने

भक्तपुर, ४ वैशाख २०८३ः

भक्तपुर नगरपालिकाभित्र सञ्चालित सामुदायिक, संस्थागत तथा गुठीअन्तर्गतका सबै विद्यालयहरू पूर्वनिर्धारित शैक्षिक क्यालेन्डरअनुसार नै सञ्चालन हुने भएका छन् ।

नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले जारी गरेको परिपत्रअनुसार हुने भनिएको नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने तथा शनिबार–आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू नगर्ने निर्णय गरेको हो ।

यसअघि नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने र दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइएको थियो । तर भक्तपुर नगरभित्रका विद्यालयका प्रतिनिधिहरू, परीक्षा समितिहरू, तथा निजी विद्यालयका संगठनहरू—इसान, प्याब्सन, नेसनल प्याब्सन, हिसान र पेट्सान लगायतले दुई दिन बिदा लागू हुँदा पठनपाठनका दिन घट्ने र पाठ्यक्रमले तोकेको क्रेडिट आवर पूरा गर्न कठिनाइ हुने भन्दै आपत्ति जनाएका थिए ।

साथै, भक्तपुर जिल्ला अभिभावक संघले पनि वैशाख १ गतेदेखि नै शैक्षिक सत्र सुरु गर्न र आइतबार विद्यालय सञ्चालन गर्न माग गर्दै नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो ।

शिक्षा नियमावली, २०५९ (संशोधनसहित) अनुसार एक शैक्षिक सत्रमा कम्तीमा २२० कार्यदिन हुनुपर्ने व्यवस्था रहेको र सर्वोच्च अदालतको हालैको आदेशलाई समेत ध्यानमा राखिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार संविधान र कानुनअनुसार आधारभूत तथा माध्यमिक शिक्षा स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भएकाले सरोकारवालाको सुझाव, कानुनी व्यवस्था तथा व्यवहारिक आवश्यकतालाई मध्यनजर गर्दै पूर्ववत् शैक्षिक क्यालेन्डरअनुसार नै विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!