विश्व भेटेरिनरी दिवस: ‘पशु चिकित्सक गोठमा सीमित प्राविधिक होइनन्, जनस्वास्थ्य र खाद्य सुरक्षाका पहरेदार हुन्’

काठमाडौँ ।

विश्व भेटेरिनरी दिवस २०२६ को अवसरमा नेपाल भेटेरिनरी एशोसिएसनले जनस्वास्थ्य र खाद्य सुरक्षामा पशु चिकित्सकहरूको भूमिकाबारे विशेष प्यानल छलफल सम्पन्न गरेको छ।

“Veterinarians: Guardians of Food and Health” (पशु चिकित्सक: खाद्य र स्वास्थ्यका संरक्षक) भन्ने यस वर्षको अन्तर्राष्ट्रिय नारालाई आत्मसात् गर्दै मंगलबार त्रिपुरेश्वरस्थित केन्द्रीय रिफरल पशु चिकित्सालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा पशु स्वास्थ्यको माध्यमबाट मानव स्वास्थ्य र खाद्य सुरक्षामा पुग्ने योगदानको गहन चर्चा गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा. केदार सुवेदीले पशु चिकित्सकहरू केवल गोठ वा फार्ममा सीमित रहने प्राविधिक नभई राष्ट्रिय खाद्य सुरक्षा र जनस्वास्थ्यका मुख्य पहरेदार भएको जिकिर गर्नुभयो।

“आजको युगमा पशु स्वास्थ्यलाई अलग राखेर मानव स्वास्थ्यको कल्पना गर्न सकिँदैन,” डा. सुवेदीले भन्नुभयो, “फार्मदेखि भान्सासम्म (Farm to Table) को स्वच्छता कायम गर्न भेटेरिनरीयनहरूले खेलेको भूमिका राज्य र नागरिक समाज दुवैले चिन्नु आवश्यक छ।” उहाँले ‘वान हेल्थ’ (One Health) अवधारणा अब नारामा मात्र सीमित हुन नहुने भन्दै जुनोटिक रोग र एन्टिबायोटिक प्रतिरोध (AMR) को बढ्दो चुनौती सामना गर्न सरकारले भेटेरिनरी सेवामा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो।

 

सरोकारवालाबीच गम्भीर मन्थन

प्यानल छलफलमा पशु चिकित्सा, जनस्वास्थ्य र वातावरणीय स्वास्थ्यको अन्तरसम्बन्धका विषयमा केन्द्रित रहेर चुनौती र समाधानका उपायहरू प्रस्तुत गरिएका थिए।

प्यानल छलफलका वक्ताहरूका रूपमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक डा. होम बहादुर बस्नेत, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-सचिव डा. भीम प्रसाद सापकोटा, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ अधिकृत डा. ईश्वर सुवेदी, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेम लाल महर्जन र युवा पोल्ट्री व्यवसायी माधव रेग्मी हुनुहुन्थ्यो। सरोकारवालाहरूले आफ्ना क्षेत्रका समस्या र समाधानका उपायबारे गम्भीर मन्थन गरेका थिए। उक्त प्यानल छलफलको सहजीकरण एशोसिएसनका प्रधान सम्पादक डा. हिमाल लुईटेलले गर्नुभएको थियो।

प्यानलिष्टहरूले उठान गरेका विषयहरूमाथि एशोसिएसनका निवर्तमान अध्यक्ष डा. राम कृष्ण खतिवडा, डा. पूर्णिमा मानन्धर, डा. श्रीराम न्यौपाने, डा. डिल्लीराम सेडाई, डा. बैकुण्ठ पराजुली, डा. नरबहादुर रजवार, डा. दिनेश पराजुली, डा. प्रकाश अधिकारीलगायत अग्रज चिकित्सक तथा विद्यार्थीहरूले आफ्ना सुझाव र जिज्ञासा राखेका थिए।

‘वान हेल्थ’ कार्यान्वयनमा जोड

एशोसिएसनका अग्रज सदस्य डा. नर बहादुर रजवारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष डा. राजेन्द्र प्रसाद यादवले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव डा. विशाल पोखरेलले गर्नुभएको थियो। कार्यक्रममा पूर्व अध्यक्ष डा. सितल काजी श्रेष्ठलगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो।

करिब २०० भन्दा बढी सरोकारवाला र सञ्चारकर्मी सहभागी कार्यक्रमले नेपालमा ‘वान हेल्थ’ अवधारणा कार्यान्वयनका लागि बलियो आधार तय गरेको आयोजकले जनाएको छ।

विश्व भेटेरिनरी दिवस हरेक वर्ष अप्रिलको अन्तिम शनिबार मनाइने भए पनि एशोसिएसनले यसलाई पूर्वसन्ध्यामै विशेष महत्त्वका साथ मनाएको हो। कार्यक्रमको अन्त्यमा अग्रज चिकित्सकहरूले व्यावसायिक एकतामा जोड दिँदै भावी कार्यदिशाबारे चर्चा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!