ललितपुर ।
पूर्व WBA Welterweight Champion तथा WBC Welterweight Champion, Keith Thurman ले पारिवारिक भ्रमणका क्रममा नेपाल आउँदा ललितपुरमा पहिलो व्यावसायिक बक्सिङ क्लब उद्घाटन गर्नुभएको छ।

इमाडोलस्थित बगैचा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा थर्मनले ‘म्याक्स बक्सिङ क्लब’को औपचारिक उद्घाटन गर्नुभएको हो। कार्यक्रममा Nepal Pro Boxing Commission (NPBC) का अध्यक्ष राजन प्रजापति र म्याक्स बक्सिङ प्रमोशनका प्रबन्ध निर्देशक मुक्ति थापाले उहाँलाई स्वागत गर्नुभयो।
उक्त उद्घाटन समारोहमा NPBC का तर्फबाट मायाको चिनोस्वरूप आधिकारिक टि–शर्ट प्रदान गरिएको थियो भने थर्मनलाई नेपाल प्रो बक्सिङ कमिसनको मानार्थ सल्लाहकारका रूपमा समेत नियुक्त गरिएको घोषणा गरियो। त्यस्तै, म्याक्स बक्सिङ प्रमोशनका एमडी थापाले विश्व शान्तिको प्रतीक बुद्धको मूर्ति प्रदान गर्नुभयो।
कार्यक्रममा मुक्ति थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने अध्यक्ष राजन प्रजापतिले समापन मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा थर्मनले आफ्नो व्यावसायिक बक्सिङ यात्राका अनुभवहरू सुनाउँदै नेपाल र नेपालीहरूसँगको पारिवारिक सम्बन्ध तथा यहाँको प्राकृतिक सुन्दरताबारे प्रशंसा गर्नुभयो। उहाँले कार्यक्रममा सहभागी खेलाडीहरूलाई प्रशिक्षणसमेत दिनुभएको थियो।
नेपालमा व्यावसायिक बक्सिङको विकास र अन्तर्राष्ट्रिय स्तरमा विस्तारका लागि यस्तो पहल महत्वपूर्ण हुने NPBC का अध्यक्ष राजन प्रजापतिले विश्वास व्यक्त गरेका छन्।