काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालयले लामो समयदेखि अनियमित बन्दै आएको शैक्षिक पात्रो सुधार्न तीव्र रूपमा परीक्षा सञ्चालन गरिरहेको छ।
त्रिविको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलका अनुसार आगामी साउनदेखि नियमित पात्रोअनुसार परीक्षा सञ्चालन गर्ने लक्ष्यका साथ अहिले महिनामा तीनदेखि चार प्रकारका परीक्षा लिइँदैछन्। २०५३ सालदेखिका ‘मौका परीक्षा’ समेत असारभित्रै सक्नेगरी काम अघि बढाइएको छ।
वैशाख महिना मात्रै बिएएलएलबी दोस्रो वर्ष, स्नातक तह नियमित दोस्रो वर्ष, वि.टेक पहिलो र दोस्रो वर्षका परीक्षा सञ्चालन भइरहेका छन्। यस्तै जेठमा तीनवर्षे र चारवर्षे स्नातक पहिलो वर्ष, बिएएलएलबी तेस्रो वर्ष र वि.टेक तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भइसकेको छ।
असार महिनाभित्र सबै संकायको चौथो वर्षको नियमित परीक्षा सम्पन्न गरिने लक्ष्य छ। विश्वविद्यालयका अनुसार कोभिड १९ महामारी र त्यसपछिका विभिन्न आन्दोलनका कारण अवरुद्ध भएका परीक्षा अब नियमित बनाइनेछ।
हाल सञ्चालन भइरहेका परीक्षामा करिब १ लाख १५ हजार विद्यार्थी सहभागी छन्। साथै परीक्षा सम्पन्न भएको सय दिनभित्रै नतिजा प्रकाशित गर्ने अभ्यासलाई पनि निरन्तरता दिइएको कार्यालयले जनाएको छ।