बल्खु, काठमाडौं।
नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा सुकुम्बासी बस्तीमा रहेका असहाय पशुहरूको उद्धार तथा उपचार अभियान तीव्र रूपमा अघि बढाइएको छ। यसै क्रममा आज काठमाडौं महानगरपालिका–बल्खुस्थित सुकुम्बासी बस्तीमा एसोसिएसनका चिकित्सकहरूको सक्रिय सहभागिता देखिएको छ।

एसोसिएसनका अध्यक्ष डा. केदार सुबेदीको नेतृत्वमा पुगेको चिकित्सक टोलीले बस्तीमै पुगेर घाइते तथा चोटपटक लागेका कुकुर र बिरालोलाई प्राथमिक उपचार प्रदान गरेको छ। अभियानमा नेपाल भेटेरिनरी काउन्सिलका उपाध्यक्ष डा. मनोज कुमार शाही, एसोसिएसनका सचिव डा. विशाल पोखरेल, केन्द्रीय सदस्य सुशील कुमार रे, वरिष्ठ पशु विकास अधिकृत डा. आवाश पौडेल लगायत वरिष्ठ चिकित्सकहरू डा. हरि दाहाल, डा. कमलेश्वर भाट र डा. विकास बोहरा सहित अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत घाइते कुकुर तथा बिरालोलाई प्राथमिक उपचार उपलब्ध गराइनुका साथै दीर्घकालीन बसोबास व्यवस्थापनका लागि सम्बन्धित निकाय र संस्थासँग समन्वय गर्ने प्रतिबद्धता समेत एसोसिएसनले जनाएको छ।
सुकुम्बासी बस्तीमा सञ्चालित यो अभियान केवल पशु उपचार कार्यक्रम मात्र होइन, संवेदनशील समाज निर्माणतर्फको एक सार्थक कदम पनि हो। अभाव र कठिनाइबीच बाँचिरहेका मूक प्राणीप्रति देखाइएको यो सहानुभूति र जिम्मेवारीले पशु कल्याणप्रति समाजको चेतना अझ बलियो बनाउने विश्वास गरिएको छ। आगामी दिनमा यस्ता पहलहरू निरन्तर र व्यापक रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।