नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको १८औँ स्थापना दिवस: सेवा विस्तार र पूर्वाधार सुदृढीकरणमा जोड

स्वास्थ्य बिमा बोर्डबाट करिब २९ करोड रुपैयाँभन्दा बढी भुक्तानी हुन बाँकी

मध्यपुर थिमि ।

मध्यपुर थिमि नगरपालिकाले संचालन गरेको मध्यपुर थिमि स्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले १८औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। मध्यपुर थिमि नगरपालिकाका कार्यबाहक प्रमुख विजयकृष्ण श्रेष्ठको साभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यबाहक प्रमुख विजयकृष्ण श्रेष्ठले अस्पतालको सेवा विस्तार र गुणस्तर अभिवृद्धिमा नगरपालिका प्रतिबद्ध रहेको बताएका छन्।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा संस्थापक नगर प्रमुख मदनकृष्ण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत भोजराज पोख्रेल लगायतका जनप्रतिनिधि, पूर्व पदाधिकारी, कर्मचारी र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

अस्पतालका कार्यकारी निर्देशक डा. दिपेन्द्र कुमार रौशनले स्थापना दिवसको अवसरमा प्रस्तुत गरेको प्रगति विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा अस्पतालले उल्लेखनीय सेवा प्रवाह गरेको छ। सो अवधिमा ओपीडीमार्फत २ लाख १३ हजारभन्दा बढी सेवाग्राहीले सेवा लिएका छन् भने ३ हजारभन्दा बढी बिरामी भर्ना (IPD) भएका छन्। आकस्मिक (ER) सेवा ७ हजारभन्दा बढीले लिएका छन्।

त्यसैगरी प्रयोगशाला परीक्षण ५ लाख ३१ हजारभन्दा बढी, एक्स–रे करिब ५५ हजार, सिटी स्क्यान २ हजारभन्दा बढी, इसिजी १० हजारभन्दा बढी र अल्ट्रासाउन्ड सेवा २० हजारभन्दा बढीलाई प्रदान गरिएको अस्पतालले जनाएको छ। शल्यक्रिया (OT) ४ हजारभन्दा बढी सम्पन्न हुँदा हेमोडायलाइसिस सेवा ९०० भन्दा बढी बिरामीले लिएका छन्।

अस्पतालले जेष्ठ नागरिक स्वास्थ्य सेवा, विपन्न वर्गलाई छुट तथा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ। चालु वर्षमा मात्र करिब १० लाख रुपैयाँ बराबरको छुट सेवा प्रदान गरिएको उल्लेख गरिएको छ।

आर्थिक पक्षतर्फ अस्पतालको आम्दानी ३९ करोडभन्दा बढी र खर्च ३३ करोडभन्दा बढी रहेको छ। यद्यपि स्वास्थ्य बिमा बोर्डबाट करिब २९ करोड रुपैयाँभन्दा बढी भुक्तानी हुन बाँकी रहेको जानकारी पनि कार्यक्रममा दिइएको छ।

आगामी योजनाबारे जानकारी दिँदै निर्देशक रौशनले न्यूरो सर्जरी सेवा सञ्चालन, १० बेडको हेमोडायलाइसिस सेवा विस्तार, रक्त सञ्चार सेवा पूर्ण सञ्चालन तथा कोरियन सरकारको सहयोगमा निर्माणाधीन भवनलाई अत्याधुनिक सुविधासहित सञ्चालन गर्ने योजना रहेको बताए। साथै, कर्मचारी क्षमता विकास, सेवा व्यवस्थापन सुधार र अस्पताललाई आर्थिक रूपमा सुदृढ बनाउने लक्ष्य लिइएको उनले उल्लेख गरे।

कार्यक्रममा अस्पतालको स्थापना र विकासमा योगदान पुर्याउने नेपाल सरकार, दातृ निकाय, कोइका, स्थानीय जनप्रतिनिधि तथा कर्मचारीप्रति आभार व्यक्त गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!