काठमाडौँ — दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धकमा डा. शरण पाण्डे नियुक्त भएका छन्।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिवसमेत रहेका डा. पाण्डेले बिहीबार दिउँसो डीडीसी पुगेर औपचारिक रूपमा पदबहाली गरेका हुन्। कृषि मन्त्री गीता चौधरीले मंगलबार मन्त्रीस्तरीय निर्णयमार्फत उनलाई उक्त जिम्मेवारी दिएकी थिइन्।
डा. पाण्डे मन्त्रालयअन्तर्गत पशुपन्छी तथा मत्स्य विकास महाशाखाका प्रमुखसमेत हुन्। हाल डीडीसीले किसानलाई दूध खरिदबापत करिब ५० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।
नवनियुक्त महाप्रबन्धक डा. पाण्डेले किसानको बक्यौता भुक्तानीलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन्। साथै बिक्री केन्द्र विस्तार, संस्थाको समग्र अवस्था सुधार तथा आन्तरिक चुहावट नियन्त्रण आफ्नो मुख्य कार्य रहने उनको भनाइ छ।
यसअघि विभिन्न प्रदेशमा कृषि सचिवको रूपमा काम गरिसकेका डा. पाण्डे पशुपन्छी क्षेत्रका अनुभवी तथा प्राविधिक ज्ञान भएका प्रशासकका रूपमा परिचित छन्।