भक्तपुर — बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले नागरिकको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण विषय भएको बताएका छन्।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै मन्त्री थापाले आफू स्वास्थ्यमन्त्री बनेपछि प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गरे। उनले बागमती प्रदेशको स्वास्थ्य क्षेत्र अहिले उत्कृष्ट अवस्थामा रहेको उल्लेख गर्दै आफ्नो पहलमा उक्त स्वास्थ्य चौकी निर्माण सम्पन्न भएको बताए।
प्रदेश सरकारबाट बजेट निकासा भएपछि भवन निर्माण कार्य अघि बढाइएको र स्थानीयलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अत्याधुनिक संरचना निर्माण गरिएको मन्त्री थापाको भनाइ थियो।
कार्यक्रममा बोल्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले स्वास्थ्य जस्तो संवेदनशील विषयलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए। उनले वडा नं. ८ को स्वास्थ्य चौकी निर्माणका लागि नगरपालिकाले रु. १० लाख सहयोग गरेको जानकारी दिए। नगरप्रमुख थापाले अब नगरमा सीमित मात्र विकास कार्य बाँकी रहेको उल्लेख गर्दै नागरिकका गुनासा र समस्यालाई सम्बोधन गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए। “स्वस्थ नागरिक नै समृद्ध समाजको आधार हो,” उनले भने।
नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले अब वडा नं. ८ का बासिन्दाले आफ्नै वडामा छिटो र गुणस्तरीय स्वास्थ्य सेवा पाउने बताइन्। उनले महिलाका लागि पाठेघरको क्यान्सर तथा स्त्रीरोगसम्बन्धी परीक्षण निःशुल्क गरिँदै आएको र यसको लाभ लिन आग्रह गरिन्।
कार्यक्रमको समापन गर्दै वडा नं. ८ का अध्यक्ष पुष्पराज बस्नेतले स्वास्थ्य चौकी भवन उद्घाटन गर्न पाउँदा खुशी लागेको बताए। उनले आफू व्यक्तिभन्दा समुदायको हितमा काम गरिरहेको उल्लेख गर्दै पूर्वाधार विकास आजको आवश्यकता भएको बताए।
कार्यक्रममा स्थानीय समाजसेवी, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
स्थानीयमा खुशी, सेवा पहुँचमा सुधार हुने अपेक्षा
विगत लामो समयदेखि साँघुरो स्थानबाट सेवा दिँदै आएको सिपाडोल स्वास्थ्य चौकी अब आफ्नै नयाँ र फराकिलो भवनमा सरेको छ। यससँगै सिपाडोल तथा आसपासका बासिन्दाले प्राथमिक उपचार, खोप तथा परामर्श सेवा व्यवस्थित रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
नयाँ भवन सञ्चालनमा आएसँगै सामान्य उपचारका लागि टाढा अस्पताल धाउनुपर्ने बाध्यता केही हदसम्म कम हुने विश्वास स्थानीयले व्यक्त गरेका छन्।