चितवन, १६ बैशाख २०८३ः
भरतपुर अस्पताल प्रशासनले उपचारका क्रममा चिकित्सकहरूले अत्यधिक महँगा न्यूट्रास्युटिकल्स सिफारिस गर्ने गरेको गुनासो बढेपछि कडा सूचना जारी गरेको छ।
अस्पतालमा उपचारका लागि आउने बिरामी तथा उनीहरूका आफन्तहरूबाट लगातार गुनासो प्राप्त भएपछि अस्पताल प्रशासनले यस विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ।
केही चिकित्सकहरूले औषधि लेख्ने क्रममा औषधि व्यवस्था विभागमा दर्ता नभएका तथा अत्यधिक महँगा न्यूट्रास्युटिकल्स सिफारिस गर्ने गरेको पाइएको छ। यसले नेपाल सरकारको सस्तो, सुलभ र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यमा असर पारेको अस्पतालको भनाइ छ। त्यसैले औषधि व्यवस्था विभागमा दर्ता नभएका यस्ता उत्पादनहरू नलेख्न सबै चिकित्सकहरूलाई सचेत गराइएको छ।
अस्पताल प्रशासनले चेतावनी दिँदै यदि पुनः यस्ता गतिविधि दोहोरिएको पाइएमा प्रेस्क्रिप्सन अडिट गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ। यस कदमलाई अस्पतालले उपचार सेवामा पारदर्शिता र बिरामीको आर्थिक भार घटाउने प्रयासको रूपमा लिएको छ।
