१० केजीभन्दा कम बेकरी सर्टेनीङ्ग बिक्रीमा प्रतिबन्ध

काठमाडौं ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले बेकरी सर्टेनीङ्ग उत्पादन तथा बिक्रीमा नयाँ कडाइ लागू गरेको छ। विभागका अनुसार अबदेखि १० केजीभन्दा कम तौलको प्याकमा बेकरी सर्टेनीङ्ग उत्पादन, प्याकेजिङ्ग तथा बिक्रीवितरण गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

विभागको मिति २०८३/०१/१४ गतेको निर्णय अनुसार सम्बन्धित उद्योगहरूलाई यस्तो कार्य नगर्न स्पष्ट निर्देशन दिइएको हो। साथै, हाल बजारमा बिक्रीवितरण भइरहेको १० केजीभन्दा कम तौलका सर्टेनीङ्गहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अनिवार्य रूपमा बजारबाट फिर्ता (रिकल) गर्नुपर्ने व्यवस्था गरिएको छ।

फिर्ता गरिएका उत्पादनबारे सम्बन्धित उद्योगहरूले विभाग तथा आफ्नो क्षेत्राधिकारभित्र पर्ने कार्यालयलाई जानकारी गराउनुपर्ने पनि सूचनामा उल्लेख छ।

विभागले उक्त निर्देशनको अवज्ञा गरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ। विभागले उपभोक्ता स्वास्थ्य र खाद्य गुणस्तर सुनिश्चित गर्न यस्तो निर्णय गरिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!