लण्डन ब्रिजको झल्को दिने प्रवेशद्वार सहित गोकर्णेश्वरमा वैशाख २४ देखि बृहत् व्यापार महोत्सव हुँदै

काठमाडौँ ।

नयाँ वर्ष २०८३ को अवसर पारेर काठमाडौँको गोकर्णेश्वरमा आगामी वैशाख २४ गतेदेखि जेठ ९ गतेसम्म ‘तेस्रो गोकर्णेश्वर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८३’ आयोजना हुने भएको छ।

औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थित हनुमान चोकमा सञ्चालन हुने यस महोत्सवको मुख्य उद्देश्य उपभोक्तालाई एउटै छानामुनि सर्वसुलभ मूल्यमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउनु र स्थानीय प्रतिभाको खोजी गर्नु रहेको छ।

महोत्सवमा औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, लत्ताकपडा, भाँडाकुँडा र पर्यटन प्रवर्द्धनका सामग्रीसहित कुल १२० वटा स्टल रहनेछन् भने गोकर्णेश्वर नगरपालिकाबाट सिफारिस भई आउने महिला उद्यमी, स्थानीय उत्पादन, सीप र कलाका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ।

करिब दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको यस महोत्सवको मुख्य आकर्षणका रूपमा बेलायतको प्रख्यात ‘लण्डन ब्रिज’ को स्वरूपमा प्रवेशद्वार निर्माण गरिनेछ भने एसियाकै उत्कृष्ट बाल उद्यान, रोटे पिङ, ड्रागन, ट्रेन, रेन्जरलगायतका मनोरञ्जनात्मक खेलहरू र विविध परिकारका फुड फेस्टिभलसमेत रहने आयोजकले जनाएको छ।

महोत्सव अवधिभर ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनुका साथै शिखर छहारी सांस्कृतिक कला केन्द्रको संयोजनमा ‘प्रथम गोकर्णेश्वर डान्स आइडल’ समेत आयोजना गरिनेछ। सर्वसाधारणका लागि १०० रुपैयाँ र परिचयपत्रका आधारमा विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको महोत्सवमा ५ वर्षमुनिका बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेश दिइनेछ भने जेठ ८, ९ र १० गते विशेष सांगीतिक कन्सर्ट हुने भएकाले उक्त दिनहरूमा प्रवेश शुल्कमा केही हेरफेर हुने आयोजक समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!