औषधी बजारलाई थप व्यवस्थित र जिम्मेवार बनाउन आवश्यक छ : प्रदेश प्रमुख भट्ट

पोखरा : गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको औषधी बजारलाई थप व्यवस्थित र जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका छन्।

नेपाल औषधी तथा विक्री प्रतिनिधि सङ्घ (एनएमएसआरए) को पोखरामा आयोजित २९ औं केन्द्रीय महाधिवेशनको उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले औषधी बिक्री वितरण निकै संवेदनशील पेसा भएकाले यसमा संलग्न सबैले गम्भीर भएर काम गर्नुपर्ने बताएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र उकास्न निजी क्षेत्रको भूमिकालाई नजरअन्दाज गर्न नसकिने स्पष्ट पारे। निजी क्षेत्र आर्थिक अवसर र रोजगारीको मुख्य स्रोत हुनुका साथै अर्थतन्त्रको ऊर्जासमेत रहेको उनको भनाइ छ।

“नेपालको अर्थतन्त्र विस्तारका लागि निजी क्षेत्रको भूमिका निकै महत्त्वपूर्ण छ। निजी क्षेत्र फस्टाउन सकेन भने अर्थतन्त्र नै समस्यामा पर्छ,” प्रदेश प्रमुख भट्टले भने, “आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबिचको सहकार्य अपरिहार्य छ। यी दुईबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा मात्रै देशको समृद्धि र विकास सम्भव छ।”

उनले देशमा लगानीमैत्री वातावरण सिर्जना गरी निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको समेत औंल्याए।

महाधिवेशनले नयाँ नेतृत्व छान्ने

सङ्घका महासचिव नीरज पन्तका अनुसार महाधिवेशनमा देशभरिका १४ वटा एकाइबाट सात सयभन्दा बढी औषधी बिक्री प्रतिनिधि (मेडिकल रेप्रिजेन्टेटिभ) हरूको सहभागिता रहेको छ। पोखरामा जारी यस केन्द्रीय महाधिवेशनले सङ्घको आगामी कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!