नेपाल कुखुरा व्यवसायी मञ्चको साधारण सभा सम्पन्नः पोल्ट्री विकास बोर्ड गठन सहित १० बुँदे माग

चितवन, १२ वैशाख २०८३ः

नेपाल कुखुरा व्यवसायी मञ्चको १७ औँ साधारण सभा तथा १० औँ अधिवेशन चितवनमा सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालको प्रमुख आतिथ्यतामा मञ्चका अध्यक्ष रघुनाथ भट्टको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै मञ्चका अध्यक्ष भट्टले नेपालको पोल्ट्री व्यवसायको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे जानकारी गराउनुभयो । उहाँले पोल्ट्री क्षेत्र कृषि क्षेत्रमध्ये आत्मनिर्भर बनेको महत्वपूर्ण व्यवसाय भएको उल्लेख गर्दै यसको संरक्षण र थप विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष भट्टले पोल्ट्री व्यवसाय धरासायी हुन नदिन उत्पादन र बजारबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले न्यूनतम समर्थन मूल्य निर्धारण, बजार अनुगमन, अवैध आयात नियन्त्रण, प्रयोगशाला विस्तार, कोल्ड स्टोर तथा आधुनिक स्लटर हाउस स्थापना लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

मञ्चले पोल्ट्री क्षेत्रको समग्र विकासका लागि निजी क्षेत्रको सहभागिता सुनिश्चित हुने गरी राष्ट्रिय पोल्ट्री विकास बोर्ड गठन गर्न माग गरेको छ । उक्त बोर्डले पोल्ट्री उत्पादन तथा बजार व्यवस्थापन, न्यूनतम मूल्य निर्धारण र व्यवसाय संरक्षणका लागि प्रभावकारी भूमिका खेल्नुपर्ने मञ्चको भनाइ छ ।

त्यस्तै, खुला सीमाका कारण अवैध रूपमा चल्ला, कुखुरा, तयारी मासु, अण्डा, क्रेट, प्याक, दाना, औषधि तथा फिड सप्लिमेन्ट भित्रिँदा स्वदेशी उत्पादन र गुणस्तरमा गम्भीर चुनौती थपिएको मञ्चले जनाएको छ । अवैध ओसारपसार नियन्त्रणका लागि कडा व्यवस्था गर्दै संलग्न सवारीसाधन लिलामी तथा सो बराबरको जरिवाना गर्ने व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

मञ्चले पशु क्वारेन्टाइन चेकपोष्टलाई अत्यावश्यक सेवाका रूपमा २४ सै घण्टा सञ्चालन गर्नुपर्नेमा पनि जोड दिएको छ । कुखुराको दानाका लागि आवश्यक पर्ने मकै र भटमास ठूलो मात्रामा विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको भन्दै भन्सार तथा कृषि सुधार शुल्क हटाउन सरकारसँग आग्रह गरिएको छ । साथै पोल्ट्रीजन्य मेसिनरी, स्पेयर पार्ट्स र उपकरण आयातमा १ प्रतिशत मात्र भन्सार लाग्ने व्यवस्था मिलाउन माग गरिएको छ ।

कुखुरापालन व्यवसाय जैविक सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशील भएकाले प्रत्येक प्रदेशमा साधनस्रोत सम्पन्न प्रयोगशाला स्थापना गर्नुपर्ने मञ्चको धारणा छ । ती प्रयोगशालाबाट रोग परीक्षण तथा निदान, दाना, दानाका कच्चा पदार्थ, भ्याक्सिन, औषधि र फिड सप्लिमेन्ट परीक्षणको सेवा सर्वसुलभ र नियमित हुनुपर्ने माग गरिएको छ ।

मञ्चले उत्पादन भएका कुखुरा, मासु र अण्डाको बजार समय–समयमा असन्तुलित हुने गरेको भन्दै प्रत्येक प्रदेशमा कोल्ड स्टोर र आधुनिक स्लटर हाउस स्थापना गर्नुपर्ने बताएको छ । यसले उत्पादन भण्डारण, बजार व्यवस्थापन र मूल्य स्थायित्वमा सहयोग पुग्ने मञ्चको विश्वास छ ।

त्यस्तै, एभियन इन्फ्लुएन्जा अन्तर्गत H5 र H9 जस्ता रोगका कारण वर्षेनी कुखुराको ठूलो क्षति हुने गरेको भन्दै रोगको स्ट्रेनअनुसारका भ्याक्सिन उपलब्ध गराउन सरकारसँग आग्रह गरिएको छ । बर्ड फ्लुबाट हुने क्षतिको क्षतिपूर्ति समयमै उपलब्ध नहुँदा व्यवसायी निरुत्साहित भएको भन्दै क्षतिपूर्ति प्रक्रियालाई छिटो र प्रभावकारी बनाउनुपर्ने माग पनि गरिएको छ ।

मञ्चले पोल्ट्री क्षेत्रमा प्रयोग हुने विद्युत् महसुल कृषि तथा सिँचाइसरह सहुलियत दरमा उपलब्ध गराउनुपर्ने माग गरेको छ । साथै अण्डा र कुखुराको मासुमा पाइने प्रोटिन तथा पोषण तत्वबारे सरकारी सञ्चार माध्यमबाट जनचेतनामूलक प्रचारप्रसार गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

कार्यक्रममा पोल्ट्री व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सहभागीहरूको उपस्थिति रहेको थियो । मञ्चले प्रस्तुत गरेका माग सम्बोधन भए नेपालको पोल्ट्री क्षेत्र अझ व्यवस्थित, प्रतिस्पर्धी र दिगो बन्ने विश्वास व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!