काठमाडौं । औषधि व्यवस्था विभागले पशुपन्छी औषधि व्यवसायी मान्यता प्रमाणपत्रका लागि परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ ।
विभागले आज एक सूचना मार्फत पूर्व स्वीकृति प्राप्त गरी पशु सेवा विभाग तथा प्रादेशिक स्तरका पशु सेवा तालिम केन्द्रसँगको समन्वयमा सञ्चालन गरिएको तालिममा सहभागी भएका व्यक्तिहरूलाई लक्षित गर्दै आवेदन खुला गरेको जनाएको छ ।
सूचनाअनुसार उक्त परीक्षा काठमाडौंमा सञ्चालन गरिनेछ भने आवेदन दिन इच्छुक प्रशिक्षार्थीहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र, अर्थात् २०८३ साल जेठ ४ गतेसम्म, विभागले तोकेको ढाँचामा आवेदन पेश गर्नुपर्नेछ । आवेदन फारम विभागको आधिकारिक वेबसाइट www.dda.gov.np
मा उपलब्ध रहेको छ ।
विभागले परीक्षा केन्द्र, मिति र समय सम्बन्धी विस्तृत जानकारी भने पछि अर्को सूचना मार्फत सार्वजनिक गरिने जनाएको छ । आवेदनका लागि विभागले तोकेको ढाँचामा भरिएको दरखास्त फारम, नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, सम्बन्धित तालिममा सहभागी भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि तथा यसअघि विभागद्वारा सञ्चालन गरिएको परीक्षामा सहभागी भएको भए प्रवेशपत्रको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।
विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यले तोकिएको समयसीमाभित्र आवेदन दिन सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।
