काठमाडौँ : प्रि-मनसुन सुरु भएसँगै वर्षा र बाढी पहिरोको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बी.पी. राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ।
प्रशासनले जारी गरेको सूचना अनुसार आज देखि अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
मनसुन सक्रिय भई देशका विभिन्न भागमा भारी वर्षा भइरहेकाले बाढी, पहिरो तथा सडक अवरुद्ध हुने जोखिम बढेको भन्दै यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण को निर्देशन तथा स्थानीय सुरक्षा निकायसँगको समन्वयमा यो कदम चालिएको हो।
त्यस्तै, तोकिएको समयबाहेक पनि मौसमको अवस्था र सडकको जोखिमलाई मध्यनजर गर्दै आवश्यक परे अस्थायी रूपमा सवारी आवागमन रोकिन सक्ने प्रशासनले स्पष्ट पारेको छ।
प्रशासनले सर्वसाधारणलाई यात्रा अघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। यसका लागि जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी तथा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र (DEOC) सिन्धुलीसँग सम्पर्क गर्न सकिने जनाइएको छ।
