मध्यपुर थिमि, भक्तपुर।
भक्तपुरको मध्यपुर थिमि चारदोबाटोस्थित पैदल यात्रु आकाशे पुल निर्माण कार्यमा लामो समयदेखि ढिलाइ भएपछि सडक डिभिजन भक्तपुरले ठेकेदार कम्पनीसँग स्पष्टीकरण माग्दै ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ।
सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण ब्यबसायी एम.के./सनलाइट जेभी, काठमाडौं बीच २०७६ भाद्र ११ गते ‘Pedestrian Overhead Bridge at Thimi, Chardobato’ निर्माणका लागि सम्झौता भएको थियो।
कार्यालयका अनुसार सम्झौतापछि पटक–पटक मौखिक, लिखित तथा टेलिफोन मार्फत काम सम्पन्न गर्न निर्देशन दिइए पनि निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको जनाएको छ। त्यसपछि सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार ठेक्का किन नतोड्ने भन्ने विषयमा सात दिनभित्र स्पष्टीकरण पेश गर्न कम्पनीलाई भनिएको छ। तोकिएको अवधिमा चित्तबुझ्दो जवाफ नआए ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइने सडक डिभिजनले जनाएको छ।
स्थानीयवासीका अनुसार पुल निर्माण कार्य वर्षौंदेखि सुस्त गतिमा भइरहेको थियो। कहिले केही भाग मात्रै ढलान गर्ने, महिनौँसम्म फर्मा नखोल्ने तथा निर्माण सामग्री सडकमा अस्तव्यस्त छाड्ने कारणले दैनिक आवतजावतमा समस्या हुँदै आएको थियो।
विशेषगरी व्यस्त सडक क्षेत्रमा निर्माण कार्य अधुरै छाडिँदा ट्राफिक व्यवस्थापन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको स्थानीयको गुनासो छ। ठेक्का तोड्ने प्रक्रिया अघि बढेपछि अब निर्माण कार्यले गति लिने अपेक्षा गरिएको छ।