भरतपुरमा कृषि बालीमा विषादी न्यूनीकरण सम्बन्धी प्रशिक्षण सम्पन्न

चितवन

सिर्जनशील समाज भरतपुर–४, चितवनको आयोजनामा तथा उदय नेपाल चितवनको सहकार्यमा तरकारी तथा कृषि बालीमा विषादी न्यूनीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम भरतपुर महानगरपालिका–४, बैकुण्ठ टोलमा शनिबार बिहान सम्पन्न भएको छ।

सिर्जनशील समाज भरतपुर–४ का अध्यक्ष इश्वरी कडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कृषि विज्ञ निशा सुवेदीले प्रशिक्षण दिनुभएको थियो। उहाँले तरकारी, खेतीपाती तथा फलफूल बालीमा लाग्ने विभिन्न रोगहरू, तिनको रोकथाम तथा नियन्त्रणका उपायहरूबारे विस्तृत जानकारी दिनुभयो।

प्रशिक्षणका क्रममा विज्ञ सुवेदीले विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा पर्ने असरबारे प्रकाश पार्दै यसको न्यूनीकरणका उपायहरू प्रस्तुत गर्नुभएको थियो। उहाँले बालीमा किरा लाग्न नदिन पूर्व सतर्कता अपनाउने, समस्या देखिएमा तत्काल व्यवस्थापन गर्ने, घरेलु औषधि तथा झोल मलको प्रयोग गर्ने सुझाव दिनुभयो।

त्यसैगरी, किराहरू नियन्त्रणका लागि पानीको उचित प्रयोग, साथै तितो, पिरो, टर्रो र अमिलो जस्ता किरालाई मन नपर्ने प्राकृतिक पदार्थहरूको प्रयोग गर्न सकिने उपायसमेत बताउनुभयो।

कार्यक्रममा सिर्जनशील समाजका संस्थापक अध्यक्ष शिवप्रसाद बराल, निवर्तमान अध्यक्ष टिकाराम सापकोटा, पूर्व उपाध्यक्ष महेश्वर पोखरेल, पूर्व महासचिव कविता शर्मा, उपाध्यक्ष हरिप्रसाद गुरागाइ, महासचिव सुरेश घिमिरे, सचिव प्रदीप अर्याल, कोषाध्यक्ष लक्ष्मी कडेल लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी दिवाकर अधिकारी, तारा कडेल, रन्जना कडेलसहित बैकुण्ठ टोलका करिब ५५ जना स्थानीय महिला तथा पुरुषहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा संस्थापक अध्यक्ष शिवप्रसाद बरालले सहजीकरण गर्नुभएको थियो भने अध्यक्ष इश्वरी कडेलले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो। व्यवस्थापनमा गोविन्द कडेलले विशेष सहयोग गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!