अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लुः करिब ५० लाख रुपैयाँ क्षति

वीरगञ्ज ।

वीरगञ्ज स्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम अन्तर्गत परवानीपुरमा अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु देखिएपछि करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

गत चैत अन्तिम साता सुरु भएको संक्रमणपछि फार्ममा रहेका सबै पन्छी, अण्डा तथा दाना नष्ट गर्नुपरेको कार्यालयले जनाएको छ। टर्की जातको पन्छीमा पहिलो पटक बर्डफ्लु पुष्टि भएपछि क्रमशः अन्य प्रजातिका पन्छीमा समेत संक्रमण फैलिएको थियो।

सूचना अधिकारी खमबहादुर प्रजाका अनुसार करिब दुई हजार कुखुराका चल्ला, १,२०० गिरीराज लगायतका कुखुरा, ३३ तित्रा, ४७ टर्की र करिब ४५० बट्टाई नष्ट गरिएको हो। साथै ठूलो परिमाणमा दाना पनि नष्ट गरिएको छ।

फार्ममा अहिले चुना छर्किने, मल पुर्ने तथा आगोको ताप प्रयोग गरेर निर्मलीकरणको काम भइरहेको छ। अधिकारीका अनुसार आगामी दिनमा पुनः सञ्चालनका लागि पोखरा र नेपालगंज स्थित कार्यालयबाट पन्छी तथा अण्डा ल्याउने तयारी भइरहेको छ।

परवानीपुर क्षेत्रको फार्ममा संक्रमण नियन्त्रणपछि पुनः अनुसन्धान कार्य सुचारु गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!