काठमाडौं । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले बिश्व बन्यजन्तु कोष (WWF) का राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङ सहितको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुभएको छ।
शुक्रबार वन तथा वातावरण मन्त्रालयमा भएको उक्त भेटवार्तामा सरकार र डब्लु डब्लु एफबीच वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणका क्षेत्रमा सहकार्य तथा साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको हो।
भेटका क्रममा वन तथा वन्यजन्तु संरक्षण, नीति निर्माण, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन लगायतका क्षेत्रमा प्राविधिक तथा संस्थागत सहयोग विस्तार गर्ने विषयमा समेत कुराकानी भएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी डब्लु डब्लु एफको सहयोगमा सञ्चालन भइरहेका जलवायु वित्त परियोजना, जलाधार लचिलोपन व्यवस्थापन लगायतका विषयमा पनि छलफल भएको थियो।
सरकार र डब्लु डब्लु एफको सहकार्यमा जलवायु परिवर्तन न्यूनीकरण, दिगो कृषि प्रवर्द्धन, जैविक विविधता संरक्षण तथा वन्यजन्तु व्यवस्थापनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।