गुण्डुमा सार्वजनिक सुनुवाइ : स्थानीयले खोजे चुनावमा मात्रै देखिने संघीय सांसदलाई

भक्तपुर, रमेश गिरी। सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयवासीले आफ्नो क्षेत्रका संघीय सांसदको अनुपस्थिति प्रति असन्तुष्टि व्यक्त गरेका छन्।

सूर्यविनायक नगरपालिकाको सहयोग तथा समन्वयमा क्रियाशील पत्रकार मञ्च भक्तपुरद्वारा बिहीबार वडा कार्यालयको सभा हलमा आयोजित “जनप्रतिनिधिसँग वडावासीको आवाज’” विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी स्थानीयले विकास निर्माण र जनचासोका विषयमा जनप्रतिनिधिसँग खुला छलफल गरेका हुन्।

कार्यक्रममा स्थानीय रामकृष्ण श्रेष्ठले वडाको विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि संघीय सांसद जनतामाझ नदेखिएको गुनासो गर्नुभयो।

उहाँले भन्नुभयो, “२०७४ अघिका र पछिका विकास जनताले देखेका छन्, तर जनताको विकासप्रतिको तीव्र चाहना अझै पूरा हुन सकेको छैन। भक्तपुर क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजीव खत्री कहाँ हुनुहुन्छ ? उहाँलाई जनताको बीचमा ल्याएर हाम्रो आवाज संघीय सरकारसम्म पुर्‍याउनुपर्छ। जनताको मतलाई बेवास्ता गर्ने छुट कसैलाई छैन।” स्थानीय राधाकृष्ण नगरकोटीले नयाँ वर्ष तथा गणेश चतुर्थीका अवसरमा सञ्चालन हुने जात्राका लागि बजेट व्यवस्था गर्न, गणेश पार्टी निर्माण, व्यायामशाला तथा पार्क निर्माण गर्न माग गर्नुभयो।

त्यस्तै, स्थानीय दीपेश कार्कीले मन्थलीदेखि वडा कार्यालयसम्म सडक सञ्जाल विस्तार, जीपलाइन मुनिको जग्गाको प्लानिङ रोक्न, ज्येष्ठ नागरिक भ्रमणको बजेट विकासमा खर्च गर्न तथा प्राणी उद्यान क्षेत्रमा चलचित्र छायांकन रोक्न माग गर्नुभयो।

तिथली गणेश भैरव समितिका अध्यक्ष सानुकाजी नगरकोटीले सडक निर्माणका क्रममा ऐतिहासिक इनार पुरिएको तथा चन्द्रसूर्य आधारभूत विद्यालयलाई बेवास्ता गरिएको गुनासो गर्नुभयो।

स्थानीय मनोज केसीले सार्वजनिक जग्गा संरक्षणमा वडाले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै निर्माणाधीन दुई वटा स्वीमिङ पुल अलपत्र परेको तथा भीम प्रावि आसपास सार्वजनिक जग्गा अतिक्रमण भएको गुनासो गर्नुभयो। भूक्षय नियन्त्रण र योग प्रवर्द्धनका लागि वडाले ठोस योजना ल्याउनुपर्ने माग स्थानीय कृष्णमुरारी वाग्लेले गर्नुभयो। स्थानीय शिव नगरकोटीले दधिकोट वडा नं. ४ र गुण्डु वडा नं. ७ जोड्ने बुढी गण्डकी खोलामा पुल निर्माण सम्पन्न भएकोमा धन्यवाद दिँदै किरियापुत्री भवन वा पार्टी प्यालेस निर्माण गर्न माग गर्नुभयो। त्यस्तै, रमेश नगरकोटीले सडकमा निर्माण सामग्री थुपार्नेमाथि कारबाही गर्नुपर्ने माग गर्नुभयो भने रविन्द्र नगरकोटीले सडक मापदण्ड मिचेर निर्माण भइरहेका संरचना तत्काल रोक्न आग्रह गर्नुभयो।

रामकृष्ण श्रेष्ठले गुण्डुको गौ संरक्षण केन्द्र तथा दुई करोड १३ लाख रुपैयाँ बजेट विनियोजन भएको पाथीभरा माताको मन्दिरको जिम्मा स्थानीय सरकारले लिनुपर्ने धारणा राख्नुभयो। रिषभ खत्रीले सामुदायिक भवनमा सञ्चालित गुण्डु खानेपानी कार्यालयले कोठा भाडामा दिने कार्य रोक्नुपर्ने बताए।

कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष रबिन्द्र सापकोटाले पछिल्लो समय आन्दोलनका कारण वडा कार्यालयको प्रशासनिक तथा सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव परेको उल्लेख गर्दै सीमित स्रोत–साधनका बीच पनि १५ देखि ३० मिनेटभित्र सेवा उपलब्ध गराइरहेको जानकारी दिनुभयो।

उहाँले मूल्यवृद्धिका कारण भौतिक पूर्वाधारका योजनामा समस्या आएको बताउँदै नयाँ योजना सुरु गर्नुको सट्टा पुराना अधुरा योजनालाई सम्पन्न गर्ने प्राथमिकतामा वडा रहेको स्पष्ट पार्नुभयो।

“जनताको अपेक्षा धेरै छन्, तर स्रोत सीमित छ। यस वर्ष संघीय सरकारबाट वडाले अपेक्षित बजेट पाएन। अब प्रदेश र नगरको बजेटको आधारमा योजना बैंक तयार गरी कार्यान्वयन गर्छौं,” उहाँले भन्नुभयो। तीन करोड रुपैयाँभन्दा कमका बहुवर्षीय आयोजनाको बजेट कटौती भएपछि गुण्डुका छ वटा ठूला आयोजना प्रभावित भएको उल्लेख गर्दै उहाँले संघीय सरकारसँग पहुँच कमजोर बन्दै गएको टिप्पणी गर्नुभयो। शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार र लक्षित वर्गका कार्यक्रमलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै वडा अध्यक्ष सापकोटाले बालमैत्री वडा घोषणा गर्न करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिनुभयो। धार्मिक, कला, संस्कृति तथा व्यायाम केन्द्र आवश्यकता अनुसार थप गर्दै इतिहास नमेटिने गरी विकास गरिने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।

वडामा कुनै पनि नयाँ प्लानिङको स्वीकृति नदिएको स्पष्ट पार्दै उहाँले जीपलाइन मुनिको जग्गा प्लानिङका नाममा नभई नापजाँच प्रक्रिया पूरा गर्न रोकिएको बताउनुभयो। निर्माणाधीन स्वीमिङ पुल संघीय सरकारको पर्यटन मन्त्रालयअन्तर्गतको बजेटबाट सुरु भए पनि बजेट अभावका कारण अलपत्र परेको उहाँको भनाइ थियो।

प्राणी उद्यानभित्र चलचित्र छायांकनको विषय संघीय सरकारको क्षेत्राधिकारभित्र पर्ने उल्लेख गर्दै योग प्रवर्द्धनका लागि नगरपालिकाले नीतिगत व्यवस्था गर्ने जानकारी पनि उहाँले दिनुभयो। सडकमा गिटी, बालुवा लगायत निर्माण सामग्री राख्न नपाइने स्पष्ट पार्दै नियम उल्लंघन गर्नेलाई कारबाही गरिने चेतावनी दिनुभयो।

वडाका सचिव सूर्यबहादुर माकजुले चालु आर्थिक वर्षमा वडाले गरेका प्रशासनिक सेवा, पूर्वाधार विकास तथा सामाजिक कार्यक्रमबारे जानकारी गराउनुभयो। उहाँका अनुसार चालु आर्थिक वर्षमा नगरसभाबाट स्वीकृत ५४ योजनामध्ये ५० योजनाको सम्झौता भइसकेको छ। जसमध्ये १४ योजना सम्पन्न, ३४ योजना कार्यान्वयनको चरणमा तथा दुई योजना सुरु हुन बाँकी छन्। चार वटा योजना कोटेशन प्रक्रियाबाट सञ्चालनमा छन्।

वडाले ज्येष्ठ नागरिक, महिला, दलित, अपाङ्गता भएका व्यक्ति तथा बालबालिका लक्षित कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै उहाँले बालमैत्री वडा घोषणाका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। ४४ जना कृषकलाई इलेक्ट्रिक स्प्रेयर वितरण, एसइई उत्तीर्ण विद्यार्थी सम्मान, ट्र्याकसुट वितरण तथा बाल हाजिरीजवाफ प्रतियोगिताजस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी पनि उहाँले दिनुभयो।

त्यस्तै, वडामा नगरसभाबाट दुई करोड ६० लाख रुपैयाँ तथा नगर कार्यपालिकाबाट विभिन्न मितिमा चार करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिइयो।

कार्यक्रममा गुण्डु प्रहरी प्रभागका प्रमुख इन्द्रप्रसाद बोयजुले सडक दुर्घटना न्यूनीकरणका लागि मापसे चेकजाँच तथा शान्ति सुरक्षामा प्रहरी सक्रिय रहेको बताउनुभयो। विशेषगरी लिखानारायण क्षेत्रमा बिदाका दिन हुने लुटपाट नियन्त्रणका लागि निगरानी बढाइएको जानकारी उहाँले दिनुभयो।

क्रियाशील पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष पुष्करराज बुढाथोकीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य उमेश कार्की, समुन परियार, वडा सदस्य गीता बस्नेत, सन्तोसी नेपाली, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालय तथा सामाजिक क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!