पाल्पा, ईश्वर कुमार थापा।
पाल्पा अस्पतालमा रेबिजविरुद्धको एन्टी–रेबिज भ्याक्सिन (एआरभी) अभाव भएपछि निःशुल्क खोप सेवा प्रभावित भएको छ। मौज्दात सकिएसँगै अस्पतालले उक्त सेवा अस्थायी रूपमा स्थगित गरेको जनाएको छ।
अस्पताल विकास समितिका अध्यक्ष अजय कर्मचार्यका अनुसार प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र, रूपन्देहीबाट नियमित रूपमा प्राप्त हुँदै आएको एन्टी–रेबिज भ्याक्सिन विगत तीन महिनादेखि उपलब्ध हुन सकेको छैन। आपूर्तिमा समस्या देखिएपछि अस्पताल विकास समितिले करिब एक लाख रुपैयाँ बराबरको खोप खरिद गरी सेवाग्राहीलाई निःशुल्क सेवा उपलब्ध गराउँदै आएको थियो।
तर खरिद गरिएको खोपसमेत सकिएपछि अस्पतालले जेठ २६ गतेदेखि एआरभी सेवा स्थगित गर्नुपरेको जनाएको छ। प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रबाट पुनः खोप प्राप्त भएपछि अर्को सूचना जारी गरी सेवा पुनः सञ्चालन गरिने अस्पताल प्रशासनले जानकारी दिएको छ।
सेवाग्राही उपचारका लागि अस्पताल पुगेर पनि सेवा नपाई फर्किनुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले अग्रिम सूचना जारी गरी हाल खोप सेवा उपलब्ध गराउन नसकिने जानकारी गराइएको अस्पतालले जनाएको छ।
रेबिज सङ्क्रमित जनावरको टोकाइपछि लगाइने एआरभी खोपलाई जीवनरक्षक मानिन्छ। यस्तो खोपको अभावका कारण सेवा प्रभावित हुँदा जिल्लाका सेवाग्राही समस्यामा पर्न सक्ने देखिएको छ।
स्वास्थ्यकर्मीहरूले आवश्यक खोपको नियमित आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।