भक्तपुर । बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा सहभागी हुन जाने एथ्लेटिक्सका खेलाडीहरूलाई प्रोत्साहनस्वरूप आर्थिक सहयोग प्रदान गरिएको छ।
भक्तपुर जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष तथा श्रीभक्त ब्याडमिन्टन क्लबका अध्यक्ष श्रीभक्त कासिछ्वाले एथलेटिक्स खेलाडीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले नगद रु २० हजार सहयोग प्रदान गर्नुभएको हो।
श्रीभक्त ब्याडमिन्टन क्लबमा आयोजित एक समारोहबीच उहाँले एथलेटिक्स टोलीका प्रशिक्षक (कोच) आशाराम गोठेलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो।
प्रतियोगितामा भक्तपुरबाट ३५ जना खेलाडी बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा सहभागी हुन जाने भएका छन् भने ५ जना खेलाडी कर्णाली प्रदेशमा आयोजना हुने ४६औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने तयारीमा रहेका छन्।
सहयोग हस्तान्तरण कार्यक्रममा कासिछ्वाले खेलाडीहरूलाई अनुशासित, आत्मविश्वासी र उत्कृष्ट प्रदर्शनमार्फत जिल्लाको प्रतिष्ठा उच्च राख्न शुभकामना व्यक्त गर्नुभयो। खेलकुद क्षेत्रको विकास र प्रतिभावान खेलाडीहरूको प्रोत्साहनका लागि आफू सधैं सकारात्मक सहयोगमा रहने उहाँको भनाइ थियो।
प्रशिक्षक गोठेले प्रतियोगिताको तयारीमा रहेका खेलाडीहरूका लागि प्राप्त सहयोगले थप उत्साह मिलेको बताउँदै सहयोगीप्रति आभार व्यक्त गर्नुभयो। खेलाडीहरू हाल प्रदेशस्तरीय तथा राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी नियमित प्रशिक्षणमा जुटिरहेका छन्।