कृषि, पशुपन्छी र प्रविधि हस्तान्तरणमा नेपाल–चीन सहकार्य बढाउने सहमति

काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा नेपाल–चीन बीच कृषि, पशुपन्छी, मत्स्य, वन तथा वातावरण क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ।

छलफलका क्रममा कृषि आधुनिकीकरण तथा यान्त्रिकीकरण, द्विपक्षीय सम्झौताहरूको प्रभावकारी कार्यान्वयन, कृषि व्यापार प्रवर्द्धन, पशु रोग नियन्त्रण, प्रविधि हस्तान्तरण तथा प्राविधिक सहयोगका विषयमा समेत विचार आदानप्रदान भएको जनाइएको छ।

सो अवसरमा मन्त्री चौधरीले उच्च मूल्यका नेपाली कृषि उत्पादनहरूको चिनियाँ बजारमा पहुँच विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि चीन सरकारको सहयोग अपेक्षित रहेको बताउनुभयो। साथै, ताप्लेजुङ को सीमावर्ती क्षेत्रमा याक तथा चौँरीको आवागमनसँग सम्बन्धित समस्याको समाधानका लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

भेटका क्रममा राजदूत माओमिङले नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै कृषि, वन, जलवायु परिवर्तन अनुकूलन, प्रविधि हस्तान्तरण, लगानी प्रवर्द्धन तथा मानव स्रोत विकासका क्षेत्रमा सहकार्य अझ विस्तार गर्न चीन तयार रहेको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!