बर्ड फ्लु नियन्त्रण चुनौतीपूर्णः ११ जिल्ला प्रभावित, ५ लाखभन्दा बढी कुखुरा नष्ट

काठमाडौं । नेपालमा बर्ड फ्लु (H5N1) संक्रमण ११ जिल्लासम्म फैलिएको छ। संक्रमणसँगै कुखुरा व्यवसायमा गम्भीर असर परेको छ भने किसानको करोडौँ रुपैयाँ लगानी जोखिममा परेको छ।

पशु सेवा विभागका अनुसार पछिल्लो तीन महिना यता देशका विभिन्न जिल्लामा बर्ड फ्लु संक्रमण पुष्टि भएको हो। संक्रमण नियन्त्रणका लागि सम्बन्धित निकायले निगरानी, नियन्त्रण तथा जनचेतनामूलक कार्यक्रमलाई तीव्र बनाएका छन्।

विभागका अनुसार चैत ४ गते मोरङमा पहिलो पटक संक्रमण पुष्टि भएपछि हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे गरी ११ जिल्लाको ८२ स्थानमा रोग फैलिएको छ।

संक्रमण नियन्त्रणका क्रममा हालसम्म ५ लाख ६९ हजार ८५८ वटा कुखुरा नष्ट गरिएको छ। साथै ९ लाख ८९ हजार ३१३ वटा अण्डा र १ लाख ९५ हजार ४८५ केजी दाना समेत नष्ट गरिएको विभागले जनाएको छ।

यसले किसानलाई आर्थिक रूपमा ठूलो क्षति पुर्‍याएको छ। फार्म सञ्चालनमा लगानी गरेका किसानहरू अहिले रोगको त्राससँगै व्यवसाय जोगाउने चिन्तामा छन्। उत्पादन घट्नु, बजारमा अनिश्चितता बढ्नु र रोग नियन्त्रणका लागि कडा मापदण्ड लागू हुनुले व्यवसायी थप दबाबमा परेका छन्।

विभागका अनुसार ११ जिल्लामध्ये ७ जिल्लामा संक्रमण नियन्त्रणमा आइसकेको छ। कोशी प्रदेशका झापा, मोरङ र सुनसरीसहित बारा, महोत्तरी, चितवन र नवलपरासीमा रोग नियन्त्रणको अवस्थामा रहेको बताइएको छ। तर काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै संक्रमण देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभागले किसान तथा व्यवसायीलाई फार्ममा जैविक सुरक्षा कडाइका साथ लागू गर्न, कुखुरा तथा अण्डाको ओसारपसार गर्दा अनिवार्य भेटेरिनरी प्रमाणपत्र लिन तथा अस्वाभाविक रूपमा कुखुरा बिरामी वा मरेको देखिए तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।

महानिर्देशक डा. उमेश दाहालले बर्ड फ्लु नियन्त्रणका लागि सबै सरोकारवालाको सक्रिय सहयोग आवश्यक रहेको बताउँदै उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्।

बर्ड फ्लु केवल पशुपन्छीको स्वास्थ्यमा सीमित समस्या नभई यसले किसानको जीविकोपार्जन, कुखुरा उद्योग र समग्र कृषि अर्थतन्त्रमा समेत गम्भीर असर पारिरहेको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!