बजारमा नक्कली SEROFLO ROTACAP: औषधि व्यवस्था विभागको अत्यन्त जरुरी सूचना

काठमाडौं । औषधि व्यवस्था विभागले दम तथा श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीले प्रयोग गर्ने SEROFLO ROTACAPS को नक्कली औषधि बजारमा फैलिएको भन्दै अत्यन्त जरुरी सूचना जारी गरेको छ।

विभागका अनुसार Cipla Ltd., Kumrek, Rangpo, Sikkim, India द्वारा उत्पादित SEROFLO ROTACAPS (Salmeterol and Fluticasone Propionate Powder for Inhalation IP) सँग मिल्दोजुल्दो नक्कली औषधि बिक्री–वितरण भइरहेको पाइएको हो।

नक्कली औषधिको प्रयोगले बिरामीको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले विभागले चिकित्सक, फार्मेसी, अस्पताल, औषधि व्यवसायी तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागले सक्कली र नक्कली औषधि छुट्याउन केही प्रमुख आधार पनि सार्वजनिक गरेको छ। सक्कली औषधिको प्याकेटमा “Not to be swallowed” भन्दा अगाडि कालो रंगको full stop रहेको छ भने नक्कलीमा रातो रंगको full stop देखिएको छ। त्यसैगरी उत्पादकको ठेगानामा “Kumrek” पछि सक्कलीमा comma (,) रहेको छ भने नक्कलीमा full stop (.) रहेको विभागले जनाएको छ।

लेबलको रातो भागमा पनि स्पष्ट भिन्नता देखिएको छ। सक्कली औषधिमा “SCHEDULE H” लेखिएको छ भने नक्कलीमा “SCHEDULEH” लेखिएको पाइएको छ। साथै केही नक्कली प्याकेटमा मूल लेबलमाथि थप अर्को लेबल टाँसिएको समेत फेला परेको छ।

औषधि व्यवस्था विभागले शंकास्पद औषधि प्रयोग नगर्न र त्यस्ता औषधि भेटिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।

विभागले बिरामीलाई शंकास्पद औषधिको प्रयोग तुरुन्त बन्द गर्न, खरिद गरिएको फार्मेसीलाई जानकारी गराउन तथा फार्मेसी व्यवसायीलाई बिक्री–वितरण तत्काल रोक्न निर्देशन दिएको छ।

विशेषगरी Asthma र Chronic Obstructive Pulmonary Disease का बिरामीका लागि प्रयोग हुने यस्तो औषधिमा नक्कली उत्पादन देखिनु गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा हेरिएको छ। स्वास्थ्य विज्ञहरूका अनुसार नक्कली औषधिले अपेक्षित उपचार प्रभाव नदिई बिरामीको अवस्था झन् जटिल बनाउन सक्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!