काठमाडौँ । विशेष अदालतले पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री एवं विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लाई अनुमति दिएको हो।
यसअघि पनि विशेष अदालतले पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। अदालतको आदेशमा अनुसन्धानका क्रममा पक्राउ परेका आरोपी पौडेललाई अनुसन्धान प्रयोजनका लागि दोस्रो पटक म्याद थप गरिएको उल्लेख छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्षसमेत रहनुभएका पौडेललाई असार ८ गते सुर्खेत बाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो। उहाँलाई हाल अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ।