काठमाडौं । पशु सेवा विभागले पक्षीपालक, व्यवसायी तथा सम्बन्धित सरोकारवालालाई पक्षीजन्य रोग नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले एक सूचना जारी गर्दै फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू कडाइका साथ लागू गर्न निर्देशन दिएको हो।
विभागका अनुसार अण्डा राख्न प्रयोग हुने पुराना क्रेट पुनः प्रयोग नगर्न र प्रयोग गर्नै परे पूर्ण रूपमा निसंक्रमण गरेर मात्र प्रयोग गर्नुपर्नेछ। साथै, काग लगायतका जंगली चराचुरुङ्गीसँग घरेलु पक्षी तथा दाना–पानीको सम्पर्क हुन नदिन पनि आग्रह गरिएको छ।
त्यसैगरी, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्नुपर्ने विभागले जनाएको छ।
हाल प्रयोगशालामा प्राप्त नमुना परीक्षणका क्रममा बर्ड फ्लु, लो प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (H9N2), रानीखेत तथा इ.कोलाईजस्ता संक्रमण विभिन्न स्थानमा देखिएको विभागले उल्लेख गरेको छ। यस्ता रोगका कारण पक्षीमा मृत्यु दर उच्च हुन सक्ने भएकाले नियमित खोप लगाउन र संक्रमण पुष्टि भएमा तत्काल नियन्त्रणका उपाय अपनाउन विभागले सुझाव दिएको छ।
विभागले कुनै पनि पक्षी फार्म वा बिक्री केन्द्रमा अस्वाभाविक रूपमा धेरै पक्षी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवा निकायमा जानकारी गराउन अनुरोध गरेको छ। रोग नियन्त्रणका लागि सबै सरोकारवालाको सक्रिय सहयोग आवश्यक रहेको विभागको भनाइ छ।
