जलवायु चुनौती बीच धान उत्पादनमा आत्मनिर्भरता आवश्यक : मन्त्री चौधरी

काठमाडौँ, असार १५ ।

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनको चुनौती सामना गर्दै धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधि, अनुसन्धान र सरोकारवालाबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ।

२३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री चौधरीले धान नेपालीको धर्म, संस्कृति र परम्परासँग गहिरो रूपमा जोडिएको महत्त्वपूर्ण बाली भएको उल्लेख गर्नुभयो।

उहाँले स्थानीय तथा जङ्गली धानका जातको संरक्षण, संवर्धन र उपयोगले जैविक विविधता संरक्षण, जलवायु सहनशीलता वृद्धि तथा दीर्घकालीन खाद्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

यस वर्षको धान दिवसको नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ ले कृषि क्षेत्रका वर्तमान आवश्यकता र चुनौतीलाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै उहाँले यसले कृषिमा नयाँ सोच र अभ्यासलाई प्रोत्साहन गर्ने धारणा राख्नुभयो।

मन्त्री चौधरीले चामल आयात घटाउन वर्षे तथा चैते धानको खेती विस्तार, उन्नत जातको विकास, प्रविधि हस्तान्तरण, सिँचाइ सुविधा विस्तार, उत्पादन सामग्रीमा सहज पहुँच तथा किसानका लागि मूल्य सुनिश्चिततालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।

साथै, उहाँले स्थानीय तथा जङ्गली धानका जातको पहिचान, सङ्कलन, संरक्षण तथा जलवायुमैत्री जात विकासमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!