भारतबाट हुने अवैध कुखुरा आयात रोक्न नसके बर्डफ्लु भित्रिने जोखिम थप बढ्नेः ब्यबसायी मुख्तार राई
नेपालगन्ज, असार १३ । भारतबाट कुखुरा, चल्ला र अण्डा आयातमा सरकारी प्रतिबन्ध कायम रहे पनि अवैध तस्करी नरोकिँदा बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा परेको सरोकारवालाले बताएका छन्।
नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले भारतबाट लुकीछिपी भित्रिने कुखुरा, चल्ला तथा अन्य पक्षीजन्य वस्तुका कारण बाँकेमा बर्डफ्लु फैलिने जोखिम अत्यधिक बढेको बताउनुभयो।
उहाँले कुखुरा, चल्ला र अण्डाको अवैध आयात पूर्ण रूपमा रोक्नुपर्ने माग गर्दै मुख्य सीमा नाकासँगै खुला नाकामा समेत निगरानी कडा बनाउन आग्रह गर्नुभयो।
श्रेष्ठले मुख्य नाकासँगै खुला सीमा क्षेत्रमा कडाइ नगरिए तथा आवश्यक सतर्कता नअपनाइए बाँकेमा बर्डफ्लु भित्रिन धेरै समय नलाग्ने चेतावनी दिनुभयो। उहाँका अनुसार यसले ठूलो आर्थिक तथा स्वास्थ्य संकट निम्त्याउन सक्छ।
नेपालगन्जका नागरिक अगुवा हेमन्तराज काफ्ले ले भारतका विभिन्न स्थान तथा नेपालका ११ जिल्लामा बर्डफ्लु देखिइसकेको अवस्थामा बाँकेमा पनि जोखिम बढेको बताउँदै सम्बन्धित निकायलाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो।
यता, बाँकेका कुखुरापालक किसान तथा व्यवसायीले पनि अवैध आयात जारी रहे बर्डफ्लु भित्रिने र त्यसबाट मानव स्वास्थ्यसँगै कुखुरापालन व्यवसायमा गम्भीर असर पर्ने चिन्ता व्यक्त गरेका छन्।
जिल्लाकै ठूला कुखुरा फार्ममध्ये एक रजा ग्रुपका सञ्चालक मुख्तार राईले भारतबाट हुने अवैध कुखुरा आयात रोक्न नसके बर्डफ्लु भित्रिने जोखिम थप बढ्ने बताउनुभयो।उहाँले बर्डफ्लु भित्रिए मानव स्वास्थ्यमा असर पर्नुका साथै करोडौँ रुपैयाँ लगानी भएको कुखुरापालन व्यवसायसमेत धराशायी हुन सक्ने चेतावनी दिनुभयो। कादरी पोल्ट्री फार्म का सञ्चालक मुनिजर खानले पनि बर्डफ्लु नियन्त्रणका लागि भारतबाट हुने कुखुराको अवैध आयात रोक्नु अपरिहार्य भएको बताउनुभयो।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले मुख्य सीमा नाकामा खटिएका सुरक्षा निकाय र क्वारेन्टाइन कार्यालयलाई कुखुरा तथा गुणस्तरहीन माछाको अवैध आयात रोक्न कडा निर्देशन दिइएको जानकारी दिनुभयो। उहाँले बर्डफ्लुको जोखिम बढ्दै गएकाले सीमा क्षेत्रमा निगरानी र नियन्त्रणलाई अझ प्रभावकारी बनाइएको बताउनुभयो।