काठमाडौँ । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको पहलमा सञ्चालन गरिएको पशुपन्छी औषधि व्यवसायी मान्यता पुनः परीक्षा सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।
संघले लामो समयदेखि गरेको अथक प्रयास, धैर्यता र निरन्तर मेहनतपछि औषधि व्यवस्था विभागले आज उक्त परीक्षा सञ्चालन गरेको हो। परीक्षामा सहभागी परीक्षार्थीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै संघले परीक्षाको परिणाम सकारात्मक आउने अपेक्षा गरेको जनाएको छ।

संघका महासचिव सादुराम ढकाल आशिषद्वारा जारी शुभकामना तथा धन्यवाद सन्देशमा सम्पूर्ण परीक्षार्थी साथीहरूलाई सफलताको हार्दिक शुभकामना व्यक्त गरिएको छ। साथै परीक्षा तयारीका क्रममा अनलाइन तथा भौतिक कक्षामार्फत सहजीकरण र सहयोग पुर्याउने प्रशिक्षकहरूको योगदानको पनि उच्च मूल्यांकन गरिएको छ।
यस क्रममा डा. प्रकाश अधिकारी, डा. नवराज श्रेष्ठ तथा डा. आर. सी. सापकोटा लगायतले परीक्षार्थीलाई आवश्यक मार्गदर्शन प्रदान गरेका थिए।
त्यसैगरी परीक्षास्थलमा उपस्थित भई परीक्षार्थीहरूको मनोबल उच्च राख्न भूमिका निर्वाह गर्ने संघका केन्द्रीय अध्यक्ष, केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, बागमती प्रदेश अध्यक्ष, बागमती जिल्ला शाखाका पदाधिकारी एवं सदस्यहरू, कार्यालय सचिव, एपोनका अध्यक्ष तथा एन.सी.डि.ए. का महासचिव प्रति पनि संघले आभार व्यक्त गरेको छ।
संघले परीक्षा सफलतापूर्वक सम्पन्न हुनु संस्थागत प्रयास र सहकार्यको सकारात्मक परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा पनि व्यवसायीहरूको हकहित तथा क्षमता अभिवृद्धिका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ।