काठमाडौं । औषधि व्यवस्था विभागले मधुमेह रोगको उपचारमा प्रयोग हुने Linarace M 850 Tablets गुणस्तरहीन पाइएको भन्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।
बजार अनुगमनका क्रममा संकलन गरिएको उक्त औषधिको नमुना परीक्षण गर्दा न्यून गुणस्तर भएको पुष्टि भएको हो।
विभागका अनुसार Grace Pharmaceuticals Pvt. Ltd., रुपन्देहीद्वारा उत्पादित Linarace M 850 Tablets (Linagliptin and Metformin HCL Tablets) को Batch No. TLMS-006 परीक्षणमा मापदण्डअनुसार नदेखिएको हो।
राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उक्त औषधि Assay Test मा असफल भएको विभागले जनाएको छ। उक्त ब्याचको औषधिको उत्पादन मिति नोभेम्बर २०२४ र म्याद सकिने मिति अक्टोबर २०२६ रहेको छ।
औषधि ऐन, २०३५ को दफा १४ बमोजिम विभागले सो ब्याच नम्बरको औषधिको बिक्री–वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता (रिकल) गर्न सम्बन्धित उद्योग तथा विक्रेतालाई निर्देशन दिएको छ।
साथै विभागले सर्वसाधारणलाई उक्त ब्याच नम्बरको औषधि प्रयोग नगर्न तथा बिक्री–वितरणसमेत नगर्न आग्रह गरेको छ। विभागले औषधिको गुणस्तरमा लापरबाही नगर्न उद्योग तथा सरोकारवालालाई समेत सचेत गराएको छ।