इनर ह्विल क्लब अफ मध्यपुरको ११औँ पदस्थापना तथा सम्मान कार्यक्रम सम्पन्न

मध्यपुर थिमि , राम शखदेब ।

विशेषतः शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा कार्य गर्ने उद्देश्यले स्थापित इनर ह्विल क्लब अफ मध्यपुरको ११औँ पदस्थापना तथा पुरस्कार वितरण समारोह साउन १७ गते बुधबार सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै इनर ह्विल डिष्ट्रिक्ट ३५० का नवनिर्वाचित चियरम्यान श्रृष्टि श्रेष्ठ प्रजापतिले क्लबले आफ्नो संगठनको विस्तार मात्र नभई प्रत्येक सदस्यको व्यक्तित्व, मित्रता, सेवा र नेतृत्व क्षमतालाई पनि फस्टाउन प्रेरणा दिएको बताउनुभयो। क्लबले संख्या मात्र होइन, गुणस्तरीय सेवा, आत्मीय सम्बन्ध र दिगो प्रभावलाई प्राथमिकता दिनुपर्ने बताउँदै चियरम्यान श्रेष्ठ प्रजापतिले इनर ह्विल क्लबको मुख्य भावना नै मनबाट सेवा गर्ने उद्देश्यसहितको नेतृत्व रहेको उल्लेख गर्नुभयो।

उहाँले डिष्ट्रिक्ट ३५० को आगामी वर्षका लागि आफ्नो दृष्टि स्पष्ट रहेको बताउँदै प्रत्येक क्लबले कम्तीमा तीन वटा प्रमुख सेवा परियोजना सञ्चालन गर्न आग्रह गर्नुभयो। तीमध्ये पहिलो महिला सशक्तीकरण तथा सीप विकासमा केन्द्रित परियोजना, दोस्रो स्वास्थ्य सचेतनासम्बन्धी परियोजना—विशेषगरी क्यान्सर, मानसिक स्वास्थ्य तथा महिनावारी स्वच्छतासम्बन्धी—र तेस्रो वातावरण संरक्षणका लागि वृक्षारोपण तथा सरसफाइ अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा इनर ह्विल राष्ट्रिय प्रतिनिधि ज्ञानु श्रेष्ठले हरेक इनर ह्विल क्लबका सदस्यहरूले सानो होस् वा ठूलो, हरेक काम “मबाट सुरु गर्दै हामीसम्म पुग्ने” सोचका साथ गर्नुपर्ने बताउनुभयो। उहाँले सकारात्मक सोच, नम्र व्यवहार, इमान्दारिता तथा सबैलाई समेटेर सँगै अघि बढ्ने भावनाको विकास गर्नुपर्नेमा जोड दिनुभयो।

पदस्थापना कार्यक्रममा क्लबका वर्ष २०२५/२६ का अध्यक्ष अमरदेवी कोजुले आफ्नो कार्यकालमा भएका विभिन्न गतिविधिबारे जानकारी दिनुभयो। साथै, आफ्नो कार्यकालमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति धन्यवाद व्यक्त गर्दै मायाको चिनो प्रदान गर्नुभयो।

कार्यक्रममा क्लबलाई सहयोग गर्ने व्यक्ति तथा संस्थाहरूलाई पनि सम्मान गरिएको थियो। सो अवसरमा क्लबका सचिव रोशनी डल्ली, कोषाध्यक्ष चम्पा श्रेष्ठ, नवनिर्वाचित अध्यक्ष दिपा प्रजापति लगायतले क्लबले समुदायमा गरिरहेका कार्य र त्यसको महत्वबारे चर्चा गर्नुभएको थियो।

नयाँ कार्यसमिति गठन

यसैबीच, सोही कार्यक्रममा वर्ष २०२६/२७ का लागि दिपा प्रजापतिको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्दै पदस्थापना गरिएको छ।

नयाँ कार्यसमितिमा उपाध्यक्ष रोशनी डल्ली, निवर्तमान अध्यक्ष अमरदेवी कोजु, सचिव चम्पा श्रेष्ठ, कोषाध्यक्ष सर्मिला प्रजापति, ISO जेनी श्रेष्ठ, सम्पादक जगतलक्ष्मी प्रजापति तथा कार्यकारिणी सदस्यहरूमा सुस्मी अमात्य र सरिता लामा श्रेष्ठ लगायत रहेका छन्।

नवनिर्वाचित अध्यक्ष प्रजापतिले आफ्नो कार्यकालमा पनि अघिल्ला अध्यक्षहरूले गरेका कार्यलाई निरन्तरता दिँदै संस्थाको गरिमालाई उच्च राख्न थप कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो। उहाँले सदस्यहरूको क्षमता अभिवृद्धि, क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर तथा समयसापेक्ष वातावरणमैत्री कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तीन छात्रालाई विभिन्न छात्रवृत्ति प्रदान

इनर ह्विल क्लब अफ मध्यपुरले विगत केही वर्षदेखि नियमित रूपमा प्रदान गर्दै आएको आर्शीयादिभ छात्रवृत्ति यस वर्ष २०८२ सालको एसईई परीक्षामा बोडे माध्यमिक विद्यालय की छात्रा रोशनी सुनारलाई प्रदान गरेको छ।

भक्तपुर क्यान्सर अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ एवं रोटरी क्लब अफ मध्यपुर थिमिका पूर्वअध्यक्ष डा. रोशन प्रजापति तथा अस्पतालकै डाक्टर एवं इनर ह्विलका संस्थापक अध्यक्ष तथा वर्तमान डिष्ट्रिक्ट गभर्नर डा. श्रृष्टि श्रेष्ठ प्रजापतिका छोराछोरीको नामबाट स्थापित १० हजार रुपैयाँ नगदसहितको उक्त छात्रवृत्ति क्लबका संस्थापक अध्यक्ष डा. श्रेष्ठ प्रजापतिले प्रदान गर्नुभएको थियो।

त्यसैगरी, क्लबका पूर्वअध्यक्ष रूपा श्रेष्ठले आफ्ना छोराछोरीको नामबाट गत वर्ष स्थापना गरेको रुजी छात्रवृत्ति यस वर्ष बालप्रेमी माध्यमिक विद्यालयबाट २०८२ सालको एसईई परीक्षा उत्तीर्ण गर्ने छात्रा सम्झना तामाङ लाई प्रदान गर्नुभएको छ।

१० हजार रुपैयाँ राशिको उक्त छात्रवृत्ति सोही अवसरमा छात्रवृत्तिका दाता रूपा श्रेष्ठले प्रदान गर्नुभएको थियो। उक्त छात्रवृत्ति गत वर्ष २०८१ सालमा आदर्श माध्यमिक विद्यालय, लायकु बाट एसईई उत्तीर्ण गर्ने लुनिभा श्रेष्ठलाई प्रदान गरिएको थियो।

यसैगरी, यसै वर्षदेखि स्वर्गीय क्याप्टेन सुवेक श्रेष्ठको नाममा पनि छात्रवृत्ति स्थापना गरिएको छ। स्व. क्याप्टेन सुवेक श्रेष्ठ छात्रवृत्ति यस वर्ष पहिलो पटक गणेश माध्यमिक विद्यालय, नगदेशबाट २०८२ सालको एसईई परीक्षा उत्तीर्ण गर्ने छात्रा दिया गिरिलाई प्रदान गरिएको छ।

१० हजार रुपैयाँ नगद राशिसहितको उक्त छात्रवृत्ति स्व. क्याप्टेन श्रेष्ठका दिदी तथा छात्रवृत्तिका दाता चम्पा श्रेष्ठले प्रदान गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!