समिटारका विद्यार्थीका लागि पोषणको साथ: चितवनमा २ हजार ७३० अण्डा वितरण

चितवन । दुर्गम बस्तीका बालबालिकाको पोषण सुधार गर्ने उद्देश्यले चितवनको राप्ती नगरपालिका–१० स्थित राष्ट्रिय माध्यमिक विद्यालय, समिटारका विद्यार्थीहरूलाई अण्डा वितरण गरिएको छ। आर्थिक तथा भौगोलिक चुनौतीबीच अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य र पोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यसहित २ हजार ७३० गोटा अण्डा हस्तान्तरण गरिएको हो।

पशु सेवा कार्यालय चितवनको आयोजना तथा नेपाल कुखुरा व्यवसायी मञ्चको सहआयोजनामा सम्पन्न कार्यक्रममा विद्यालयका ४९१ जना विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन्। ग्रामीण तथा चेपाङ समुदायका बालबालिका अध्ययनरत यस विद्यालयमा पोषणयुक्त खाद्य सामग्रीको पहुँच बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भरतलाल चेपाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो। नेपाल कुखुरा व्यवसायी मञ्चका महासचिव डा. विष्णुहरि शर्मा विशिष्ट अतिथि तथा नेपाल लेयर्स कुखुरापालक संघका सचिव मदन पोखरेल अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रम सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक दिनेश पौडेलले गर्नुभएको थियो। स्वागत मन्तव्यका क्रममा भरतलाल चेपाङले विद्यालयको अवस्था, विद्यार्थीहरूको पारिवारिक पृष्ठभूमि तथा उनीहरूले भोगिरहेका चुनौतीबारे जानकारी गराउनुभयो। उहाँले दुर्गम क्षेत्रमा शिक्षा सँगसँगै पोषणको सवाल पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथि डा. विष्णुहरि शर्माले अण्डालाई सन्तुलित र सहज रूपमा उपलब्ध हुने पोषणयुक्त खाद्य पदार्थका रूपमा व्याख्या गर्नुभयो। उहाँले अण्डामा प्रोटिन, भिटामिन र शरीरलाई आवश्यक पर्ने विभिन्न पोषक तत्व पाइने भएकाले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा यसको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।

प्रमुख अतिथि डा. प्रभात न्यौपानेले अण्डा सबै उमेर समूहका लागि उपयुक्त, सुरक्षित र पूर्ण पोषणयुक्त खाद्य पदार्थ भएको उल्लेख गर्नुभयो। उहाँले अण्डामा कुनै मिसावट हुन नसक्ने भएकाले यो स्वास्थ्यका दृष्टिले भरपर्दो खाद्य पदार्थ भएको बताउँदै बालबालिकाको नियमित आहारमा अण्डा समावेश गर्नुपर्नेमा जोड दिनुभयो।

स्थानीयस्तरमा सञ्चालन गरिएका यस्ता कार्यक्रमले विद्यालयमा अध्ययनरत बालबालिकाको पोषण अवस्था सुधार गर्न मात्र होइन, उनीहरूको सिकाइ क्षमता र समग्र विकासमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!