कमिसन मागेको आरोपमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख सहित दुई जना अख्तियारको नियन्त्रणमा

राजविराज, सप्तरी

सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भ्याक्सिनेटरहरूले सेवा उपलब्ध गराएबापत पाउनुपर्ने भुक्तानी रकमबाट २० प्रतिशत कमिसन स्वरूप घुस मागिएको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले कारबाही गरेको हो।

आयोगका अनुसार सवारी चालक भोगेन्द्र यादवलाई घुसस्वरूप रु. ३३ हजार ३५० लिइसकेको अवस्थामा पक्राउ गरिएको थियो। अनुसन्धानका क्रममा उनीबाट उक्त रकमसहित स्रोत नखुलेको रु. ४८ हजार ७० गरी जम्मा रु. ८१ हजार ४२० बरामद गरिएको आयोगले जनाएको छ।

त्यसैगरी, यादवको साथबाट विभिन्न रकम उल्लेख भएका चार थान चेक, जसको कुल मूल्य रु. १ लाख २९ हजार बराबर रहेको छ, तथा एक थान मोबाइल पनि बरामद गरिएको छ।

निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दासको साथबाट एक थान मोबाइल र रु. १ लाख २५ हजार बराबरको एक थान चेक समेत बरामद गरिएको आयोगले जनाएको छ।

अख्तियारले दुवै जनालाई आज नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!