काठमाडौं, – नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु. ३ करोड ४५ लाख ९९ हजार १६७ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार गुप्ता गाउँपालिका अध्यक्षमा निर्वाचित भएको २०७४ असार २० गतेदेखि २०७९ असार २८ गतेसम्मको अवधिलाई जाँच अवधि मानी अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा गुप्ता तथा उहाँको एकाघर परिवारको वैधानिक आय रु. ३ करोड ५१ लाख ५२ हजार ६२० रहेको देखिएको छ। तर सोही अवधिमा अध्ययन, घर निर्माण तथा खरिद, बीमा प्रिमियम र कम्पनीमा गरिएको लगानीलगायत शीर्षकमा रु. ६ करोड ९७ लाख ८१ हजार ७८८ खर्च भएको पाइएको आयोगले जनाएको छ।
आयोगका अनुसार आय र खर्चको तुलना गर्दा रु. ३ करोड ४५ लाख ९९ हजार १६७ को स्रोत पुष्टि हुन नसकेको निष्कर्ष निकालिएको छ।
यस मुद्दामा गुप्तासँगै उहाँका बुवा वंशराज गुप्ता, आमा धानमती तेली तथा श्रीमतीहरू शारदा आचार्य गुप्ता र सुलोचना गुप्तालाई पनि प्रतिवादी बनाइएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो तथा सजायको मागदाबीसहित सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।