काठमाडौँ, असार २३ गते। पछिल्लो समय ११ जिल्लामा फैलिएको बर्डफ्लु संक्रमणमध्ये सात जिल्लामा रोग नियन्त्रणमा आएको छ भने काठमाडौँ उपत्यकासहित चार जिल्लामा नियन्त्रणका प्रयास जारी रहेका छन्।
पशुसेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु संक्रमण नियन्त्रणमा आइसकेको छ। तर काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने रोगको निगरानी तथा नियन्त्रणका कार्यक्रम सञ्चालन भइरहेका छन्।
विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरी संक्रमित पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्री नष्ट गरेर सुरक्षित व्यवस्थापन गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार सीमा क्षेत्रमा पशु क्वारेन्टाइन कार्यालयमार्फत उच्च सतर्कता अपनाउँदै नियमित गस्ती परिचालन गरिएको थियो। सो क्रममा अवैध रूपमा पैठारी गरिएका पन्छी नियन्त्रणमा लिएर नष्ट गरिएको र संक्रमण नियन्त्रणमा आएपछि पन्छी तथा पन्छीजन्य वस्तुको ओसारपसारलाई क्रमिक रूपमा सहज बनाइएको छ।
डा. उपाध्यायले बर्डफ्लु उच्च मृत्युदर भएको सङ्क्रामक रोग भएकाले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै आवश्यक जनशक्ति परिचालन गरिएको बताउनुभयो। उहाँले रोग पुनः फैलिन नदिन जैविक सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्न किसान तथा व्यवसायीलाई आग्रह पनि गर्नुभयो। RSS