काठमाडौँ, असार २५ गते ।
प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या समाधान, लगानीमैत्री वातावरण निर्माण तथा भौतिक पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग भएको छलफलमा उहाँले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार विस्तारको प्रमुख आधार भएकाले यस क्षेत्रका समस्याप्रति सरकार गम्भीर र समाधानका लागि सकारात्मक रहेको स्पष्ट पार्नुभयो।
प्रधानमन्त्री शाहले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास–निर्माणका आयोजना निर्धारित समयमै सम्पन्न गर्न सरकार, निजी क्षेत्र र सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
छलफलमा महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछानेले निर्माण व्यवसायीहरूले भोगिरहेका समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो।
उहाँहरूले निर्माण व्यवसायीले लामो समयदेखि भुक्तानीमा ढिलाइ, म्याद थप, ठेक्का व्यवस्थापन, आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ सुविधा तथा लगानीसम्बन्धी चुनौती सामना गरिरहेको उल्लेख गर्दै निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो।
छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र तथा प्रमुख स्वकीय सचिव सुवास शर्मा पनि सहभागी हुनुहुन्थ्यो।