काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाद्य वस्तुको गुणस्तर वैज्ञानिक रूपमा परीक्षण गरी बजार अनुगमनलाई थप प्रभावकारी बनाउन खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ।
काठमाडौँ प्लाजाको पाँचौँ तलामा स्थापना गरिएको प्रयोगशालाको आज महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उद्घाटन गर्नुभयो। कृषि तथा पशुपन्छी विभागअन्तर्गत सञ्चालन हुने उक्त प्रयोगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्थापना गरिएको महानगरपालिकाले जनाएको छ।
प्रयोगशालामा इकोलाई, साल्मोनेला, स्टाफिलोकोकस ओरियस, टोटल प्लेट काउन्ट, टोटल मोल्ड काउन्ट, फिकल कोलिफर्मलगायत रोगजन्य सूक्ष्मजीवको परीक्षण गरिनेछ। परीक्षण प्रक्रिया राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिएको स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर (एसओपी) का आधारमा सञ्चालन हुनेछ।
उद्घाटन कार्यक्रममा कार्यवाहक प्रमुख डङ्गोलले अब बजार अनुगमनका क्रममा खाद्य वस्तुको गुणस्तर अनुमानका आधारमा नभई वैज्ञानिक परीक्षणबाट प्राप्त प्रमाणका आधारमा मूल्याङ्कन गरिने बताउनुभयो। उहाँले गैरकानुनी व्यावसायिक गतिविधिमा संलग्नलाई प्रयोगशालाबाट प्राप्त प्रमाणका आधारमा कानुनी कारबाही गरिने स्पष्ट पार्नुभयो।
डङ्गोलका अनुसार महानगरले हालसम्म तीन हजार ९० जना खाद्य व्यवसायीलाई खाद्य स्वच्छता, उपभोक्ता अधिकार तथा व्यवसायिक मर्यादासम्बन्धी क्षमता विकास तालिम प्रदान गरिसकेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा घुम्ती प्रयोगशालामार्फत पनि नियमित बजार अनुगमन भइरहेको उहाँले जानकारी दिनुभयो।
महानगरपालिकाले प्रयोगशाला सञ्चालनसँगै खाद्य स्वच्छताको अनुगमन, नियमन तथा नियन्त्रणलाई थप तथ्यमा आधारित बनाउने विश्वास व्यक्त गरेको छ। यसबाट उपभोक्ताले सुरक्षित र स्वच्छ खाद्य सेवा प्राप्त गर्ने अधिकार अझ प्रभावकारी रूपमा सुनिश्चित हुने अपेक्षा गरिएको छ।
महानगरपालिकाका खाद्य स्वच्छता विज्ञ सल्लाहकार जीवनप्रभा लामाले खाद्य स्वच्छता प्रवर्द्धनका लागि कानुनी व्यवस्था, निरीक्षण प्रणाली, प्रयोगशाला सेवा र उपभोक्ता सचेतनाजस्ता सबै आधारभूत पक्षमा महानगरले एकसाथ काम गरिरहेको बताउनुभयो। उहाँले यस प्रयोगशालालाई आगामी दिनमा अन्तर्राष्ट्रिय मान्यता (एक्रिडेसन) प्राप्त गराउने लक्ष्य रहेको जानकारी दिनुभयो।
महानगरका अनुसार प्रयोगशालामा नमूना दर्तादेखि परीक्षण प्रतिवेदन तयार पार्ने सम्पूर्ण प्रक्रिया वैज्ञानिक गुणस्तर व्यवस्थापन प्रणालीअनुसार सञ्चालन हुनेछ।